असोज ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ ।
चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ आइपुगेका अध्यक्ष दाहाललाई प्रमुख ताओले स्वागत गरेका थिए । भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले ‘सि जिङपिङ विचार’को विकास गरी चीनलाई नयाँ उचाईमा उठाएकोमा खुसी व्यक्त गरे । आफ्नो दुबै प्रधानमन्त्रीत्वकालमा भएको चीन भ्रमण र ती भ्रमणको क्रममा छलफल र समझदारीलाई स्मरण गर्दै अध्यक्ष दाहालले ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गलाई विशेष जोड दिए । दाहालले भने, ‘पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धिमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ट्रेड एण्ड ट्रान्जिट सम्झौताले दुरगामी महत्व राख्दछ । चारवटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो ।’
उनले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्वन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चीनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य बताए । भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल अनि चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी बीचको सम्बन्ध बिकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गर्दै धन्यवाद दिए । विदेश विभाग प्रमुख ताओले भने, ‘तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ ।’

