सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

जेठ २७, म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र नेपाल रेडक्रस सोसाइटीका टोलीले सेवा दिएका थिए । शिविरमा छ सय ६२ जनालाई स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, भेटेरिनरी, आयुर्वेद, कृषि परामर्शसम्बन्धी सेवा प्रदान गरिएको अर्थुङ्गेस्थित नेपाली सेनाको शत्रुभञ्जन गुल्म सेनानी प्रकाश घिसिङले जानकारी दिनुभयो ।

स्वास्थ्यतर्फ चार सय चारजनाले स्वास्थ्य परीक्षण, हाड जोर्नी, मनोरोग, दाँत, आँखासम्बन्धी सेवा लिएका उहाँले बताउनुभयो । एक सय ४३ जनाले आयुर्वेद, ८८ जनाले भेटेरिनरी र २४ जनाले कृषिसम्बन्धी सेवा लिएका सेनानी घिसिङले बताउनुभयो । भेटेरिनरी अस्पतालका पशु चिकित्सक भरत रेग्मीको टोलीले एक हजार दुई सय ५९ वटा पशुपक्षीका लागि औषधि वितरण गरेको जनाएको छ । बेनी अस्पतालका डा रामु सापकोटा, सुधानु प्रधान, विद्या अधिकारी, समिर भण्डारी, रोशन आचार्य, करुणा कार्की, आयुषा मानन्धर, अशोक पन्त, अस्मिता कटुवाल, मदन सापकोटा, मनकाजी थापा, सैनिक अस्पतालका डा मिलन न्यौपाने, सेविका श्रेष्ठ, अमित तुलाचन र विक्रमजङ्ग थापाको टोलीले सेवा प्रवाह गर्नुभएको थियो ।

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई गाउँमै स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउने र समस्या पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरेको नेपाली सेनाले जनाएको छ । शिविरमा मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.