वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँः सभापति देउवा

जेठ २६, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताएका छन् ।

पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग आज भएको भेटमा उनले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि कांग्रेसले पहल गर्ने बताएका छन् । सभापति देउवाले समस्याबारे पार्टीले संसद्मा समेत कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे ।

एशोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक एक सय श्रमिकलाई अनिवार्यरूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको गुनासो गर्दै नीति पुनरावलोकनका लागि पहल गर्न सभापतिसमक्ष आग्रह गरे । उनले म्यानपावर कम्पनीले बैँक तथा वित्तीय संस्थामा राखेको धरौटी रकम धेरै भएकाले त्यसमा समेत पुनःविचार गर्नुपर्ने आवश्यकता औँल्याए ।

भेटमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, पार्टीको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव एवं राष्ट्रियसभा सांसद कृष्णप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । यसअघि बिहीबार वैदेशिक रोजगार व्यवसायी सङ्घ र विभिन्न पार्टीनिकट व्यवसायी सङ्घसंस्थाले श्रम तथा रोजगारमन्त्री डिपी अर्याललाई भेटेर वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा देखिएका समस्या र समाधानबारे अवगत गराएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.