एम्बुलेन्समा जिपिएस प्रणाली जडान

जेठ २२, काठमाडौँ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस जडान गरिएको छ ।

एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) मार्फत एकीकृत एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रणाली सुरु गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, जनस्वास्थ्य कार्यालय र धुलिखेल अस्पतालस्थित प्रेषण केन्द्रको समन्वयमा ११ वटा स्थानीय तहका २२ वटा एम्बुलेन्समा जिपिएस प्रणाली जडान गरिएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका जनस्वास्थ्य अधिकृत सिर्जना अधिकारीले प्रदेश सरकारको सहयोगमा जिल्लामा रहेका २२ वटा एम्बुलेन्समा निःशुल्क जिपिएस प्रणाली जडान गरिएको बताउनुभयो ।

उहाँले जिल्लामा रहेका करिब ४७ वटा एम्बुलेन्समध्ये आधा दर्जन एम्बुलेन्स मात्रै जिपिएस प्रणालीबाट सञ्चालन भएको पाइएको भन्दै करिब ४० वटा जति एम्बुलेन्समा केहीमा जिपिएस प्रणाली जडान भए पनि नवीकरण नगरेका कारण बिग्रिएको बताउनुभयो । पहिलो चरणमा २२ वटा एम्बुलेन्समा जिपिएस जडान गरिने र त्यसपछि कति आवश्यक पर्ने सोको आधारमा प्रदेश सरकासँग थप जिपिएस जडानका लागि माग गरिने उहाँले बताउनुभयो । जिपिएस जडान गरिएका एम्बुलेन्सले एक वर्षसम्म जिपिएस प्रणालीमा आबद्ध भएबापतको कुनै शुल्क तिर्नु नपर्ने र एक वर्षपछि भने नवीकरण गर्नुपर्ने बताउनुभयो । “पहिला जिपिस जडान गरिएका एम्बुलेन्सको अवस्थाका बारेमा र उनीहरू कहाँ रहेका छन् भन्ने विषयमा धुलिखेल अस्पतालमा रहेको प्रेषण केन्द्रमा मात्रै जानकारी हुन्थ्यो अब प्रेषण केन्द्रका साथै पालिका प्रमुखले आफ्नै कार्यकक्षमा बसेर स्व्रिmन र मोबाइलमार्फत आफ्नो पालिकाको एम्बुलेन्स हिँडेको ठाउँको बारेमा जानकारी लिन सक्नुहुने छ,” जनस्वास्थ्य अधिकृत अधिकारीले थप्नुभयो ।

धुलिखेल अस्पताल आकस्मिक विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले एम्बुलेन्समा जिपिएस प्रणाली जडान गरेपछि उनीहरूको अवस्थाका बारेमा जानकारी प्राप्त गर्न र आकस्मिक रूपमा एम्बुलेन्सको आवश्यकता परेको खण्डमा खबर गर्न सहज हुने बताउनुभयो । उहाँले आइतबार र सोमबार जिपिएस प्रणाली जडान गरिएका २२ वटा एम्बुलेन्सले अर्को वर्षदेखि मासिक २२० रुपियाँका दरले नवीकरण गरे मात्रै हुने बताउँदै विगतमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा रहेका ४७ वटा एम्बुलेनसमा जिपिएस प्रणाली जडान गरेर प्रेषण केन्द्रमार्फत सञ्चालित भए पनि केही वर्षदेखि उनीहरूले जिपिएस प्रणालीको नवीकरण नगरेका कारण सम्पर्कविहीन अवस्थामा रहेको बताउनुभयो । उहाँले पहिला जिपिएस जडान गरिएका एम्बुलेन्सलाई पुनः सोही प्रणालीमा आबद्ध गराउने काम भइरहेको बताउनुभयो । सरकारले करिब तीन वर्षअघि एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालिका निर्देशिका २०७७ जारी गरी सञ्चार प्रणाली र प्रेषण केन्द (डिस्प्याच सेन्टर) मार्फत एम्बुलेन्स सेवा सुरु गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.