भीम लामा,
जेठ १८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागले ‘२१ औं शताब्दीमा मिडिया व्यावसायिकताको चुनौतिहरू’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार विभागीय प्रमुख प्राध्यापक प्रवलराज पोखरेलको अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहप्राध्यापक डा. कुन्दन अर्याल, उपप्राध्यापकहरू डा. देवराज अर्याल, घमराज लुईटेल, शशिनाथ मरासिनी र रेडियो नेपालका महानिर्देशक बुद्धिबहादुर केसी लगायतले छुट्टाछुट्टै विषयमाथी चर्चा गरेका थिए ।
सहप्राध्यापक डा. कुन्दन अर्यालले मानव अधिकार र पत्रकारिता शीर्षकमा चर्चा गर्दै संयुक्त राष्ट्र संघले सन् १९४८ मा जारी गरेको अन्तर्राष्ट्रिय मानव अधिकार घोषणापत्रले जुनसुकै देशको नागरिकलाई आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रूपमा समान अधिकार प्रदान गरेको बताए । विश्वव्यापी रूपमा प्राप्त भएको मानव अधिकारको रक्षा मिडियाले नै गर्नुपर्ने उल्लेख गर्दै मानव अधिकारको अभ्यास र संरक्षणमा मिडियाको महत्वपूर्ण भूमिका रहेको बताए । वर्तमान समयमा मिडियामाथी सामाजिक रूपमै चुनौति थपिदै गएको उल्लेख गर्दै पत्रकार र मिडिया लगानीकर्ता अथवा सञ्चार उद्यामीलाई फरक दृष्टिकोणबाट हेर्न नहुने बताए ।
उपप्राध्यापक डा. देवराज अर्यालले जलवायु परिवर्तनले विश्व आक्रन्त भइरहेको बेला सन्तुलनमा ल्याउन मिडियाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । डा. अर्यालले जलवायु परिर्वतनले गरेको असरबारे स्पष्ट पार्दै त्यसबाट जीवनमा पारेका असरबारे मिडियाबाट सिर्जनात्मक र रचनात्मक तरिकाले सूचना प्रवाह गर्नुपर्ने बताए । त्यस्तै उपप्राध्यापक शशिनाथ मरासिनीले पत्रकारितामा व्यवस्थित र मार्यदित पत्रकारिता बनाउन कानुन र नैतिकतालाई संगसंगै लानुपर्ने बताए । समाज, कानुन र मिडिया अन्तरसम्बन्धित रहने भएकोले व्यावसायिक पत्रकारितमा कानुन र नैतिकता महत्वपूर्ण रहने बताए । अदालतको निर्णय गर्ने शक्ति कानुन भएकोले कानुनी प्रवाधानलाई अनुसरण गराउँदै पत्रकारिता पेसा अपनाउँदा मिडिया क्षेत्रमा हुने चुनौति न्यूणिकरणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा उपप्राध्यापक घमराज लुइटेलले परम्परागत र आधुनिक मिडियाबारे चर्चा गर्दै मिडिया कन्भरजेन्सका तीनवटा प्रकार भएको बताउँदै संस्कृति, आर्थिक र प्रविधिबारे स्पष्ट पारे । परम्परागत मिडिया केन्द्रीकरणमा मात्र सिमित हुँदा आधुनिक समाजका पाठक, दर्शकलाई असहज बन्दै गएको बताए । परम्परागत मिडियको विकास छापा, रेडियो, टेलिभिजनबाट भएको बताए । त्यस्तै अनलाइन डिजिटल न्यूजपोर्टल, सामाजिक सञ्जालहरूले गर्दा आधुनिक मिडिया विकेन्द्रीकरणको रूपमा विकास भएको बताए । उनले २१ औँ शताब्दीमा मिडिया व्यावसायिकताका चुनौतिको रूपमा स्थापित हुन आएकोले परम्परागत मिडियालाई डिजिडलतर्फ अभिसरण गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा रेडियो नेपालका महानिर्देशक बुद्धिबहादुर केसी, नेपाल प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल, लगायत स्नाकत्तोर अध्ययनरत विद्याथीहरूले धारणा राखेका थिए । सो कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले टिप्पनी गरेका थिए । उनले त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागले देखाएको सक्रियातालाई प्रशांस गर्दै वर्तमान समयमा मिडिया साक्षरता बढ्दै गएकाले आम नागरिकबाट प्रश्न गर्न थालेको बताए । गलत समाचार हुने बित्तिकै एक्सनमा आउन सक्ने भएकोले पत्रकारिता क्षेत्रमा लाग्नेले थप व्यवस्थित र संवेदनशील भएर लाग्न सुझाव दिए । डिजिटल मिडियाले हाम्रो सिर्जनालाई चुनौति दिएसंगै रोजगारको अवसरबाट बञ्चित बनाएको उल्लेख गरे । मिडियालाई आचारसंहिता र आर्थिकसंग जोडिएर कार्यसम्पादनलाई प्रभावकारी बनाएमा परम्परागत र नयाँ मिडियावीचको खाडल केही हदसम्म पूर्ति गर्न सकिने बताए ।

