भाद्र ३१, नुवाकोट । गत भाद्र २७ गते गएको पहिरोका कारण दुप्चेश्वर गाउँपालिका वडा नम्बर १, घ्याङफेदी स्थित चेताङ गाउँका विस्थापितहरुलाई आज संघीय सांसद हितबहादुर तामाङ र प्रदेश ३ का उपसभामुख राधिका तामाङले राहत सामाग्री वितरण गरिएका छन्।

पहिरोबाट पूर्ण क्षेती भएका ११ घरपरिवारका लागि खाना पकाउने, खाने भाँडा सेट र सिरक, डसना, तकियासहित ओड्ने ओछ्याउने सेट साँसद हितबहादुर तामाङ स्वयमले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए भने खाद्य सामग्रीहरु स्थानीय सरकार, प्रहरी र स्थानीय पार्टीका प्रतिनिधीहरुको रोहवरमा वितरण गर्ने गरी एकमुष्ठ रुपमा हस्तान्तरण गरिएको हो । चामाल २ हजार केजी, दाल १ सय ५० केजी, तेल ७६ लिटर, नुन १०० केजी सांसद हितबहादुर तामाङ र उपसभामुख राधिका तामाङ स्वयमले उपलब्ध गराएका थिए भने चिउरा ८० केजी, दालमोड, कपडा र भाँडाकुडा अन्य सहयोगीहरुबाट संकलन गएिको वितरण टोलीका सदस्य डिवि तामाङले जनाए । तर हेलिकप्टरको भार क्षमताका कारण सबै खाध्यन्न लान नसकी एयरपोर्टमै छाडिएको र केही समयपछि अन्य माध्यमबाट पठाउने उनले बताए ।

प्रभावित क्षेत्र अत्यन्तै दुर्गम भएको र बाढी पहिरोको कारण मोटर बाटोको असुविधाले गर्दा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयबाट गरिने राहत र सेवा प्रवाहमा कठिनाई भइरहेकोले आफूहरुले तत्कालीन समस्या टार्न राहत दिएको सांसद हितबहादुर तामाङले बताए । पानी पर्न रोक्नासाथ बाटोको व्यवस्थाका लागि गाउँपालिकासंग कुरा भैसकेको र बाटोको व्यवस्थासंगै पुनस्थापना र दिर्घकालीन समाधानका लागि सरकारमार्फत पहल गरिने उनले बताए । सांसद र उपसभामुख दुवै जनाले यस अघी घटनास्थल पुगेर क्षेतीको विवरण बुझ्नुका साथै नेपाली सेनाको हेलिकप्टरमार्फत पहिरोमा फसेका शेर्पा दम्पतीको उद्दारका लागि पहल गरेका थिए । उनीहरुले त्यहाँबाट फर्के लगत्तै राहतको व्यवस्था गरी आज हस्तान्तरण गरेका हुन ।


