गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना

जेठ १४, काठमाडौँ । मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरेको छ ।

सशस्त्र प्रहरी नंं २९ गुल्म गोरखाको मातहत रहने गरी चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा आइतबार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । उक्त बिओपी गोरखा सदरमुकामबाट करिब एक सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ । समुद्री सतहतबाट करिब तीन हजार आठ सय ७५ मिटरको उचाइमा स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुइला नाका रहेको छ ।

नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटना, हिमपात, हिमपहिरोमा परेका नागरिकको उद्धार, अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमास्तम्भ तथा सीमा इलाकाको निगरानीलगायत कार्य गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि सशस्त्र प्रहरीले चीनतर्फ दार्चुलाको तिङ्कर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङ्गोलासहित नौ स्थानमा बिओपी स्थापना गरिसकेको छ । सशस्त्र प्रहरीले भारतको सिमानातर्फ दुई सय ४४ र चीनको सिमानातर्फ १० गरी सीमा क्षेत्रमा कूल दुई सय ५४ बिओपीको स्थापना गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.