कोही-कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो– रास्वपा

जेठ ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति पार्टी प्रतिबद्ध रहेको जनाएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोधमा पक्राउ गरेको आरोप लागिरहेको बेला बुधबार पार्टीका महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । ‘धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक–अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ’ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विधिको शासन रास्वपाको अर्को सौन्दर्य भएको भन्दै कानुन भन्दामाथि कोही हुँदैन जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ । विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति रास्वपा पार्टीको उच्च सम्मान गर्ने उल्लेख भर्दै विज्ञप्तिमा भनिएको छ, तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानूनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ ।’ नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको रास्वपाको बुझाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ । न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नुपर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानूनी राज्यको जीत होस् ।’

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.