जेठ ८, काठमाडौँ । नेकपा (एकीकृत समाजवाद) पार्टीले मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको बताएको छ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा विज्ञप्तिमार्फत एकीकृत समाजवादीले यस्तो धारणा सार्वजनिक गरेको हो। उक्त घटनाले प्रेस र राज्यकाबीच द्वन्द्व सिर्जना गर्न खोजिएको सो पार्टीको जिकिर छ।
‘मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ। यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,’ पार्टीका महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सो घटनाको विषयमा समाजवादी प्रेस संगठन नेपालले पनि प्रेस विज्ञप्ती जारी गरेको छ । सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्न सरकार लागिरहेको जिकिर गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको आरोप लगाएको छ ।



