ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने

भदौ २९, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन्।

सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताए। “अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा बेलाबेलामा बत्ती जाने गरेको छ”, कार्यकारी निर्देशक घिसिङले भने, “ अब ती क्षेत्रमा कहिल्यै बत्ती नजाने गरी काम गरिरहेका छौँ।” उनले विद्युत् वितरणलाई भरपर्दो बनाउन अन्य क्षेत्रमा पनि विद्युत् नजाने गरी आफू लागिपरेको बताए। “अहिले साना प्रसारण क्षमताबाट वितरण भएको विद्युत्लाई भरपर्दो र दिगो समाधानका लागि क्षमता बढाएर गुणस्तरीय बनाउन लागिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने, “यसबाट बेलाबेलामा विद्युत् जाने समस्या हट्नुका साथै निरन्तर विद्युत् पनि दिन्छौँ।” निकट भविष्यमै काठका पोल, शहरमा देखिएका नाङ्गा तार हटाइ जमीनमुनिबाट विद्युत् लाइन वितरण गरिनेमा जोड दिँदै उनले नेपालको जलविद्युत् परियोजनालाई विस्तार गरेर केही वर्षमा विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुर्याइने पनि बताए।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले सरकारले थप जलविद्युत् परियोजना ल्याउन तयारी गरिरहेको जानकारी दिँदै जलविद्युत्मा वैदेशिक लगानी भित्र्याउनका लागि अहिले भइरहेका ऐन कानूनले समस्या परेकाले त्यसलाई संशोधन गरी वैदेशिक लगानी भित्र्याइने बताए। विद्युत्मा फड्को मार्न सकेमात्र मुलुकको विकास हुने भन्दै उनले ठूला परियोजनाबाट विद्युत् उत्पादनका लागि सरकारले वैदेशिक लगानी खोजिरहेको बताए। ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले लोडसेडिङमुक्त भए पनि बिजुलीको गुणस्तर कामय गर्न नसकिएको बताए ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.