निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्री तामाङको निर्देशन

जेठ ३, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

आज नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उनले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा आफ्नो सहयोग रहने र कर्मचारीले आफ्नो दायित्व परिपालनामा सचेत रहन आग्रहसमेत गरे। निगमको हितमा हुने हरेक काममा म तपाईंहरूसँगै छु। तपाईँहरूले पनि आफ्नो विभाग र आफूले गर्नुपर्ने कार्यमा दत्तचित्त भएर लाग्नुहोला। ढिलासुस्ती र निगमलाई नोक्सानी हुने कुरामा सचेत रहनुहोला”, उनले भने।

​त्यसअवसरमा पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले निगमको प्रगतिका लागि सबै कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने र मन्त्रालयस्तरबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच मन्त्री तामाङले निगमको चालु आव २०८०÷ ८१ को समीक्षा र आगामी आव २०८१÷ ८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटनसमेत गरेका निगमले जनाएको छ।

बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए। बजार व्यवस्थापन विभागका निर्देशक टङ्कनिधि दाहालले निगमको बजारस्थिति र बजारीकरणको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.