वैशाख २४, काठमाडौं । वागमती प्रदेशमा आजबाट थप दुई वटा भाषा सरकारी कामकाजको भाषा हुने भएको छ । वागमती प्रदेशमा तामाङ र नेवार भाषा पनि सरकारी कामकाजको रुपमा शुरु भएको छ ।
आजबाट देशैभरि नेपाल बहुभाषिक मुलुक हो भन्ने कुरालाई राज्यकै तर्फबाट वागमती प्रदेशबाट ऐतिहासिक सन्देश प्रवाह भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडौंको बसन्तपुरबाट तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा शुभारम्भ कार्यक्रमको भव्यताका साथ उद्घाटन गरेका छन् ।

आजको दिनलाई मातृभाषीहरूले मात्र होइन, भाषिक सहिष्णता चाहने, सामाजिक न्यायका पक्षधारहरु, यो मुलुक सबैको साझा फूलवारी हो भन्नेहरुको लागि पनि ऐतिहासिक दिन हो । यो दिनलाई नेपाली जनताले सदा स्मरण गर्नु पर्ने दिनको रुपमा स्थापित भएको छ । भाषाविद् अमृत योञ्जन आजको दिनलाई ‘सरकारी कामकाजको भाषा दिवस’ को रुपमा मनाउनुपर्ने बताउँछन् ।

‘आजकै दिनदेखि बागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषा (नेवाः भाषा) पनि सरकारी कामकाजको भाषा बनेको छ ।’ आजकै दिनदेखि नेपाल पूर्णरुपले बहुभाषिक मुलुकमा प्रवेश गरेको छ । आजको दिनलाई ‘सरकारी कामकाजको भाषा दिवस’का रूपमा मनाउनु आवश्यक छ ।
शुभारम्भ कार्यक्रमलाई भव्यताका सफल पार्न तामाङ र नेवार समुदायका विभिन्न संघसंस्थाहरू आ–आफ्नो साँस्कृतिक बाजा, भेषभूषा तथा गीत संगीतका साथ ¥यालीमा सहभागी रहेका थिए ।





