वैशाख ५, काठमाडौँ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत पाँच सय जना विद्यार्थीहरू लाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ ।
मंगलबार भूकम्पबाट प्रभावित भएका गरिब विद्यार्थीहरूलाई विद्यालयको प्राङ्गणमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त वितरण गरेको हो । प्राचार्य गोरख बहादुर सिंहले विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापमा टेवा पुर्याउने कार्यक्रम जाजरकोट जिल्लाको एकदम विकट बारेकोट गाउँपालिका ६ नम्बर वडामा रहेको आफ्नो विद्यालय श्री सीता माध्यमिक विद्यालयमा गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र ओरेगन नेपाली समाजलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष, नारायण गुरुङज्यूले जाजरकोटमा भुकम्प जादा विदेशमा रहेका नेपालीहरूको मुटु कामिरहेको र भुकम्प प्रभावित विद्यार्थीहरूलाई सानो भएपनि सहयोग गर्न र प्रत्येक्षरूपमा भेट्न पाउदा आनन्द आएको बताउनुभयो । परिषद्का राष्ट्रिय संगठन सचिव, नारायण प्रसाद ढकालले विद्यार्थीहरू राष्ट्रका वर्तमान र भविष्य भएकाले असल व्यक्ति निर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताउदै विद्यार्थी परिषद्ले निरन्तर सेवा कार्य गरिरहेको उल्लेख गर्नुभयो । शैक्षिक सामग्री विद्यालयसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङलाई अभिनन्दन तथा सम्मान पत्र सहित विद्यालय परिवारले सम्मान गरेको थियोे ।

राहत वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, ओरेगन नेपाली समाज, अमेरिकाका अध्यक्ष, नारायण गुरुङ, सीता माध्यमिक विद्यालयका प्राचार्य, गोरख बहादुर सिंह विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र नेपाली, विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजाति कार्य प्रमुख, चन्द्रशेखर जोशी,बारेकोट ५ नम्बरका वडाअध्यक्ष, गोरख बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शर्मा, विरिजित बोहरा, कर्णाली प्रदेश कार्य समिति सदस्य नवीन गिरी, बिष्णु कार्की, विद्यालयका शिक्षक, अभिभावक तथा जनप्रतिनिधि लगायत उपस्थिति रहेको थियो ।

