वैशाख १, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको जनचाहना पू्रा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलकाबीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्ने बताएका हुन् ।
सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि आवधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व मननीय छ भन्दै सन्देशमा अध्यक्ष नेपालले सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

