चैत २५, काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयनमा महासंघहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार काठमाडौँमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभामा रहेको शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादर थापाले सूचनाको हक लोकतान्त्रिक विधिलाई नभै नहुने कुरा हो भएको बताएका छन् । अझै पनि हामीले सूचनाको हकलाई राम्रोसंग कार्यान्वयन गर्न सकेका छैनौं । यसको कार्यान्वयनमा महासंघहरुको उल्लेख्य भूमिका रहने बताउँदै देशको समग्र विकाशका लागि शिक्षा,स्वास्थ्य र सञ्चार क्षेत्रको गुणस्तरीय विकास हुनु पर्ने भन्नु हुँदै हाम्रो संविधान लिखित रुपमा संसारकै उत्कृष्ट छ तर यसको कार्यान्वयनमा अझै पनि कमी कमजोरी रहेको छ बताए ।

सभापति थापाले राज्यको श्रोत साधन खर्च गरेर विकास निमार्णहरु के कसरी भइरहेका छन तिनीहरुको सही र समुचित प्रयोग भइरहेको छ छैन भनेर आम नागरिकले सूचनाको हकको प्रयोग गरेर जान्न र बुझ्न जरुरी छ भन्ने धारणा व्यक्त गरे । त्यस्तै कार्यक्रममा उपस्थित भएका विभिन्न महासंघहरुका सहभागीहरुले यस किसिमको कार्यक्रम अत्यन्तै लाभदायी भएको र यस किसिमका कार्यक्रमहरुले निरन्तरता पाउनु पर्ने, यस्ता कार्यक्रमहरुले सूचनाको हकको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीज्यूले “सूचनाको हकः कानूनी व्यवस्था,अभ्यास र महासंघहरुको दायित्व” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई राष्ट्रिय सूचना आयोगका सचिव होमप्रसाद लुईंटेलले स्वागत मन्तव्य राख्दै सूचनाको हकको सही प्रयोगबाट पारदर्शीता कायम हुने, भ्रष्टाचारमा कमी आउने र सुशासन कायम हुने बताउँदै महासंघहरुको देशैभरि सञ्जाल विस्तार भएको हुँदा सूचनाको हक कार्यान्वयनमा सहजता आउने बताएका थिए ।
त्यस्तै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकले नागरिकका हक अधिकारको सुनिश्चित गर्न, सार्वजनिक निकायलाई उत्तरदायी र जवाफदेही बनाइ सुशासन कायम राख्न सूचनाको हकको महत्वपूर्ण भूमिका रहने हुँदा सोको सुनिश्चितताका लागि महासंघहरुले आ—आफ्ना सञ्जाल मार्फत नागरिक तहमा पुग्न सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

