चैत १५, काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १४ स्थित फुलासीमा रहेको साङ्गा छ्योइलिङ गुम्बाद्वारा ४ धर्मगुरूलाई बधाई तथा सम्मान गरिएको छ ।
काठमाडौँको बौद्धमा एक विशेष कार्यक्रमका साथ विभिन्न विश्वविद्यालय तथा गुम्बाबाट बौद्ध दर्शनमा आचार्य पद (स्नाकत्तोर ) हासिल गरि फर्किनुभएका चार जना विज्ञ व्यक्तित्वहरूलाई सम्मान गरिएका हुन् । मन्थली नगरपालिका वडा नं. १४, फुलासी रामेछापमा जन्मिएका पासाङ लामा (थुप्तेन ज्याम्पाल), अशोक लामा (थुप्तेन), बुद्ध लामा र लोपेन साङ्ग्ये ग्याल्छेन लामालाई रामेछाप जिल्लाबाट संघीय संसदमा निर्वाचित सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आतिथ्यतामा सम्मान गरिएको हो ।

पासाङ लामा (थुप्तेन ज्याम्पाल)ले भारतको मैशोर सेरा शेर्पोम विश्वविद्यालय गुम्वाबाट पहिलो तहमा (घेशे ल्हारम्पा) विद्यावारिधि (पिएचडी) गर्नुभएको छ । अशोक लामा (थुप्तेन) र बुद्ध लामाले सम्पूर्णानन्द संस्कृति विश्वविद्यालय वारानासी भारतबाट आचार्य (स्नाकत्तोर) गर्नुभएका हुन् । त्यस्तै लोपेन साङ्ग्ये ग्याल्छेन लामाले नेपालकै फर्पिङको ङिङ्मा पाल्युल उर्गेनदोर्जे छ्योलिङ गुम्बाबाट आचार्य गर्नुभएको हो ।

बौद्ध दर्शन र धार्मिक संस्कारबारे ज्ञान प्रदान गर्न योग्य र सक्षम व्यक्तित्वको परिचय दिनुभएको भन्दै उहाँहरूलाई बधाई तथा सम्मान गरिएको आयोजक संस्था गुम्बा समितिले जानकारी दिएका छन् । । तामाङ समुदायमा बौद्ध धर्म जागरण, धार्मिक संस्कार, ज्ञान र आत्मानुशासनलाई अनुसरण गर्दै साँस्कृतिक एवम् धार्मिक पर्यटनमा आचार्यहरूको महत्वपूर्ण योगदान रहने विश्वासका साथ गुम्बा परिवारले सो कार्यक्रमको आयोजना गरिएको बताएका छन् । सम्मान तथा बधाई कार्यक्रममा रामेछापबाट काठमाडौँ आएर विभिन्न पेसा व्यवसाय तथा शिक्षण सिकाईमा आवद्ध व्यक्तिहरूको सहभागिता रहेका थिए ।



