फागुन २४, काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशद्वारा आयोजना गरिएको तीन दिने ल्होछार मेला आजबाट सुरु भएको छ।
काठमाडौंको चुच्चेपाटीमा डम्फु, टुङ्ना झाँक्री तथा खैचडीको विशेष प्रस्तुतिका साथ कार्यक्रम उद्घाटन भएको हो । तीन दिनसम्म चल्ने सो मेलाको उद्घाटन संस्कृति तथा पर्यटन मन्त्री हितबहादुर तामाङले गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले कलाकार भनेको सप्तरङ्गी जस्तै भएको बताएका छन् । कलाकारले स्थानीय कला संस्कृतिहरूको प्रवर्धन गर्दै अगाडि बढ्नुपर्ने उनले बताए । मन्त्री तामाङले कला संस्कृतिमार्फत समाजलाई सभ्य तरिकाले परिवर्तनतर्फ जोड दिनुपर्ने बताए ।

कार्यक्रममा स्थानीय उत्पादनहरूको प्रवर्द्धन र प्रदर्शन समेत गरेका थिए। २६ गतेसम्म चल्ने सो मेलामा विभिन्न ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक संगम तामाङले जानकारी दिए ।


