भदौ २५, वीरगञ्ज । पर्सामा विभिन्न अपराधिक गतिविधिमा संलग्न भइ फरार रहेका २ सय ३६ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले फरार अभियुक्त पक्राउ अभियानलाई तीब्र बनाएपछि उनीहरु पक्राउ परेका हुन् । चालु आर्थिक २०७५÷७६ मा ५ जना र गत आर्थिक वर्ष ०७४÷७५ मा २ सय १६ जना गरी २ सय ३१ जना फरार अपराधी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका मध्ये १५ जना महिला रहेका छन् ।
लागु औषध, सवारी ज्यान, कर्तव्य ज्यान, किर्ते जालसाजी, ठगी, अपहरण तथा शरीर बन्धक मुद्धाका २३१ जना फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाहीका जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । ‘न्यायपालिकाले गरेको निर्णय कार्यान्वयन भएन भने नागरिकले न्यायापालिकामा माथिनै विश्वास नगर्न सक्छन्, अर्कोतर्फ अदालतले दोषी ठहर गरेका अपराधी समाजमा रहँदा आफूले गरेको सजाय कार्यान्वयन नहुँदा राज्य कमजोर छ भन्ने बुझिन्छ । व्यवस्था नै फितलो हुन जान्छ । त्यस्तै अपराध गर्दा पनि केही नहुने रहेछ भन्ने भावनाको विकास उनीहरुमा हुने भएकोले सामाजिक विकृति बढ्न सक्छ,’ उनले भने, ‘ कानुनी राज्यको अनुभूति दिलाउन र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पनि फारार अभियुक्तलाई पक्राउ गर्न अभियान नै चलाउने गरेका छौं, यसमा प्रहरी सफल पनि देखिएको छ ।’
तीन प्रहरी अधिकृत सम्मानित
पर्सा जिल्ला अदालतले फरार अपराधीहरुलाई पक्राउ गरी कैद, दण्ड तथा जरीवाना असुलमा सहयोग पुर्याएकोमा विभिन्न प्रहरी अधिकृतहरुलाई सम्मान पनि गरेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय पर्सामा प्रमुख रहेका प्रहरी उपरीक्षक डा.गणेश रेग्मी, प्रहरी निरीक्षक अनिष कर्ण र कुमार मैनालीलाई अदालतले सम्मान गरेको हो ।
प्रहरी उपरीक्षक डा। रेग्मीले साढे ७ महिने कार्यकालमा अभियान नै चलाएर ३ सय ५८ जना फरार अपराधी पक्राउ गरेका थिए । प्रहरीले पर्साबाट आर्थिक वर्ष ७३÷७४ मा जम्मा ४७ जना फरार अपराधी पक्राउ गरेको थियो । वडा प्रहरी कार्यालय विर्तामा कार्यरत कर्णको सरुवा भइसकेको छ भने मैनाली वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत छन् ।

