रितु तामाङ,
फागुन १५, काठमाडौँ । मिस तामाङ प्रतियोगीतामा हरेक वर्षझै यस पटक पनि आलोचना भएको छ ।
यस अघि एभेष्ट फेसन होमले आयोजना गर्दै आएको मिस तामाङ प्रतियोगिता यस पटक मम्स इन्टरनेशनल नेपालले गरेको छ । तामाङ समुदायको भाषा, भेषभूषा, कला, संस्कृति र धर्मलाई संरक्षण तथा प्रर्वद्धनका लागि योग्य प्रतियोगि छनोट गर्ने उद्देश्यले आयोजना गरेको भनिएता पनि यस पटकको मिस तामाङ प्रतियोगितामा भने विपरीत भएको आम दर्शक तथा समुदायस्तरबाट प्रश्न गरेका छन् ।
अडिसन राउण्डमा छनोट गरिएका २६ जनालाई करिब एक महिनाको अवधिमा क्षमता अभिवृद्धि तथा विभिन्न विद्यामा तालिम दिए पनि ग्राण्ड फिनालीमा आफ्नो प्रतिभा प्रस्तुत गर्न नसकिएको दर्शकहरूको टिप्पणी थियो । विशेषतः तामाङ समुदायलाई प्रस्तुत गर्न जिम्मेवार व्यक्ति निर्माणदेखि तामाङ भाषाको संरक्षणमार्फत कला, संस्कृति, संस्कार र पहिचनाका लागि सक्षम दूत उत्पादनको लागि मिस तामाङको आयोजना गरेको बुझिन्छ ।
मिस तामाङ भन्ने बित्तिकै सौन्दर्य, व्यक्तित्व विकास, सीप र क्षमताको कदर गर्दै समुदायको जिम्मेवार व्यक्ति निर्माण गर्नु भन्ने आम समुदायको बुझाई छ । तर आम समुदायको बुझाई विपरीत आयोजकले आफ्नो आर्थिक लाभका लागि मात्र प्रतियोगिताको आयोजना गरेको आरोप सतहमा देखिन्छ । प्रतियोगितामा सहभागी बन्न रू. ५ सयको दरले फाराम शुल्क उठाइएको र तालिम बाफत ५ हजारका दरले आयोजकले लिदै आएको प्रतियोगितामा सहभागी एकले बताईन् ।
त्यस्तै प्रतिभोट रू. १० र प्रतियोगि प्रति व्यक्ति १५ हजारको दर टिकट विक्री गर्नुपर्ने काइदाको पैसा असुल्ने पेसाको रूपमा नजिर बनाएको आयोजक संस्थाले क्षमताभन्दा कलाकारिता र शौन्दर्यलाई प्राथामिकता दिएको सामाजिक सञ्जालदेखि कार्यक्रममा सहभागीहरूको चर्को टिप्पणी छ । मिस तामाङलाई संस्थागत विकास भन्दा कमाउ धन्द चलाएको भन्दै सामाजिक सञ्जालमा त आक्रोश पोखेका छन् ।
हरेक वर्ष विवादमा पर्ने मिस तामाङ प्रतियोगित यस वर्षदेखि क्रेज घट्दै गएको पनि उनीहरू बताउँछन् । यस पटकको मिस तामाङ सहभागीमध्ये कतिलाई त आफ्नो भाषा के हो ? पहिरन कस्तो हुन्छ त्यो समेत थाहा नभएको जसरी प्रस्तुति दिएको हलमा सहभागीहरूको भनाई थियो । त्यस्तै निर्णायकहरू भने विषयगत भन्दा अस्वभाविक प्रश्न गर्दै रमाईरहेका थिए । मिस तामाङ प्रतिस्पर्धामा सहभागीलाई प्रश्न गर्दै एक निर्णायकले सोधेका छन्– तपाई काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहको ठाउँमा हुनुभयो भने नयाँ के गर्नुहुन्छ ? यो प्रश्नले जग हसाउने काम बाहेक केही गरेन । मेयर बालेनको कामले तामाङको इतिहास, संस्कृति र संस्कारमा के योगदान पु¥याएको छ किन मेयर बालेनसंग मिस तामाङलाई दाजियो भन्ने प्रश्न दर्शकतिरबाट उठेको थियो ।
त्यस्तै अर्का एक निर्णायकले प्रतियोगितलाई प्रश्न गरे– यदि तपाई एक दिनको लागि भगवान हुनुभयो भने संसारलाई कसरी परिवर्तन गर्नुहुन्छ ? यी प्रश्नमा पनि त्यस्तै टिप्पणी आयो भगवानसंग मिस तामाङको अन्तरसम्बन्ध के ? क्रमिक रूपमा प्रश्न आयो अर्का निर्णायकबाट नारीवाद भन्ने शव्दलाई कसरी बुझ्नुहुन्छ र बुझाउनुहुन्छ ? तपाईलाई समलिङ्गी भनेको के थाहा छ ? त्यस्तै तस्तै अस्वभाविक प्रश्नका विच माइक र स्वरको अन्तरबारे ज्ञान नभएका प्रतिस्पर्धीहरूले पनि चिच्याई चिच्याई च्याठ्ठिएको स्वरमा प्रश्न जस्तै जावाफ पनि उत्तरदक्षिण आयो त्यसमै निर्णायकले टाउँको हल्लाउँदै लेखे जस्तो गरे त्यसपछि पर्दा पछाडि आयोजक संस्थाका दुई चार जना बसेर बाहिर परिणाम सुनाइयो ।
दर्शक वर्गबाट तामाङ भाषामा प्रश्न सोध्न आग्रह गरेको आवाज गुन्जिन थाल्यो, केही निर्णायकले प्रयास गर्न थाले तर प्रतियोगितामा सहभागीहरू भने तामाङ भाषा बोल्न त के बुझ्न नसकिने जावाफ आयो त्यही मुताविक मिस तामाङको छनोट प्रतियोगितामा अंग्रेजी र नेपाली भाषा प्रयोग भयो । केही प्रतिस्पर्धी भन्दै थियो अडिशनबाट एक महिना भयो तामाङ भाषा सिक्दैछु र सिक्न आएको हुँ त्यो सकारात्मक पक्ष थियो । तर माइक समाउने र स्वरको तहबारे नै अनिविज्ञ जसरी उनीहरूको प्रस्तुतिले एक महिनासम्म प्रशिक्षण गराउने कोरियोग्राफर वा प्रक्षिक नै कमजोरी देखियो ।
निर्णायक र अतिथिकै खडरी हुँदैँ मिस तामाङ प्रतियोगिता
विवाद बढ्दो भए पछि मिस तामाङ प्रतियोगिताको ग्राण्ड फिनालीमा निर्णायक र अतिथि पाउन मुस्किल देखिन्छ । छनोट तथा मूल्यांकन प्रक्रियामा निर्णायक मण्डलभन्दा आयोजक संस्था हावी हुँदै गएको आरोप खेपिरहेको मिस तामाङ प्रतियोगितामा यस पटक पनि उस्तै अवस्था दोहोरिएको केही सञ्चारकर्मी तथा सहभागीहरूको भनाई थियो । अघिल्लो वर्षहरूमा भएको कमिकमजोरीका कारण निर्णायकहरू बस्न नरूचाएको जस्तो कार्यक्रमको दृश्यले देखाइएको थियो । सहभागी निर्णायकले पनि पूर्व तयारीविना मोबाईल हेर्दै प्रश्न गरेको दृश्यमा देख्न्थ्यिो । मिस तामाङ प्रतियोगितालाई क्षमताको कदरभन्दा आर्थिक चलखेल र मनोरञ्जनको हतियार बनाएको भन्दै तामाङ समुदायस्तरमै नकारात्मक टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न मिस तामाङ २०२४ प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए । विभिन्न टिप्पणी र आलोचनाकै विच मिस तामाङ– २०२४ मा रिया लामालाई विजेता घोषणा गरे । उनले नगद रू. एक लाख राशीको पुरस्कार सहित केही गिप्ट ह्याम्पर पाइन् र फोटो सेसन गर्दै कार्यक्रम सकियो । एक वर्षको अन्तरलमा मिस तामाङ २०२४ विजेताले समुदायको भाषा, संस्कृति भेषभूषा तथा आफ्नो लक्ष्यअनुरूप काम गरोस् विजेतालाई हाम्रो शुभकामना ।

