न्याय माग्दै लघुवित्त र मिटरव्याज पीडित काठमाडौंमा

फागुन ११, काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितहरू न्यायको लागि संघीय राजधानी काठमाडौँमा आएका छन् । कतिपयले आफ्नो घरायसी आवश्यकता पूर्तिका लागित कतिपय समूह तथा कतिपय अवस्थामा लघुवित्त कम्पनीहरुको कर कापमा परेर ऋणको भारी बोक्न बाध्य भएका लघुवित्त पीडितहरु यही फागुन ९ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनमा छन् ।

आन्दोलनका कारण शुक्रबार दिनभर राजधानीको जनजीवन अस्तव्यस्त बन्यो । सिफलचौरबाट बालुवाटारतर्फ गएका लघुवित्त पीडित र थानकोटबाट सिंहदरबारतिर आएका मिटरव्याज पीडितको मार्चपासका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । तर, सरकार भने रमिते बनिरहेको छ ।

आर्थिक उन्नती होला कि भन्ने आसमा लिएको लघुवित्तको ऋणले उल्टै घरवास नै उठिवास लगाएको व्यथा राज्यलाई सुनाउन विभिन्न जिल्लाबाट आएर काठमाडौंको सिफलचौरमा मुकाम बनाएर बसेका लघुवित्त पीडितहरुको शुक्रबार भने प्रहरीसँग झडप भयो ।

सिफलबाट मार्चपास गर्दै नेपाल राष्ट्रबैंकको केन्द्रीय कार्यालय घेराउ गर्न बालुवाटार पुगेका लघुवित्त पीडितहरुलाई निषेधित क्षेत्रबाट अघि बढ्न रोक्ने क्रममा झडप भएको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि तीन दिनदेखि धर्ना दिंदै आएका उनीहरुले शुक्रबार अलिकति अघि बढ्न खोज्दा झडप निम्तिएको हो । झडपमा केही प्रदर्शनकारी घाइते भए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अधिकाशं महिला र वृद्धवृद्धा, दैनिक प्रदर्शन र कैयौं दिनदेखिको यात्राको शिलशिलाले थकित बनेका पीडितहरुलाई ज्यानको माया भन्दा न्यायको लडाई महत्वपूर्ण रहेको पाइयो । यद्यपी प्रहरीले पनि निकै संयमता अपनाएको थियो । निषेधित क्षेत्रमा प्रवेश गर्नबाट रोक्ने क्रममा भएको लाठीचार्ज र अश्रुग्यास प्रहारबाट घाइते भएकाहरुलाई प्रहरीले नै उद्धार गरेको थियो । बालुवाटारमा लघुवित्त पीडितहरु सडकमा प्रहरीसंग भिड्दै गर्दा राजधानी केन्द्रीत आन्दोलनकै लागि आएका मिटरब्याज पीडितहरुको अवस्था पनि उत्तिकै दर्दनाक देखियो ।

तस्बीरः युरेशन सुब्बा÷प्रारम्भ खबर

 

२४ दिनको यात्रापछि थानकोटस्थित त्रिभुवनपार्क आएका बसेका मिटरब्याज पीडितहरु शुक्रबार बिहानै सिंहदरबार घेर्ने भन्दै मार्चपास गर्दै अघि बढेका थिए । त्रिभुवनपार्कबाट सिंहदरबार घेर्न भन्दै अघि बढेका मिटरव्याज पीडितहरुमा पनि अधिकांश महिला नै रहेका छन् जो काखे बालबालिका च्यापेर आन्दोलनका लागि आएका छन् ।

गाउँ गाउँका साहु महाजनबाट शासित र शोषित बनेका पीडितहरु सिंहदरबारका झन् ठूला साहु महाजन समक्ष पुग्न पाउने त संभावना नै थिएन । भृकुटीमण्डप पुग्दा नपुग्दै रोकिएपछि उनीहरु त्यहीं सडकमै सुतेर प्रदर्शन गरेका थिए ।

तस्बीरः युरेशन सुब्बा÷प्रारम्भ खबर

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.