त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस

फागुन ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले तीन जनाको नाम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिफारिस गरेको छ ।

समितिले आइतबार सम्पन्न अन्तर्वार्ताबाट छानिएका तीन जनाको नाम सिफारिस गरेको हो । समितिको सचिवालयका अनुसार १४ जनासँगको अन्तर्वार्ताबाट क्रमशः प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा केशरजङ्ग बराल र प्राडा टङ्कनाथ धमलाको नाम सिफारिस गरिएको छ ।

स्रोतका अनुसार सबैभन्दा धेरै अङ्क बुढाथोकीले पाएका छन् । प्राप्ताङ्कका आधारमा बराल र धमला दोस्रो र तेस्रो नम्बरमा रहेको स्रोतको भनाइ छ तर प्रधानमन्त्री तथा कुलपतिले तीन जनामध्येबाट उपकुलपति नियुक्त गर्न पाउने प्रावधान छ ।

समितिले पहिलो चरणको छनोटमा ४२ जनाबाट १४ जनाको नाम सार्वजनिक गरेको थियो । समितिले सर्ट लिस्टमा छनोटमा परेका कुसुम शाक्य, प्राडा केशरजङ्ग बराल, गोविन्द सुवेदी, प्राडा चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, प्राडा टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापासँग आइतबार अन्तर्वार्ता लिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.