फागुन ६, काठमाडौँ । अध्ययन, अनुसन्धान, लेखन र प्रस्तुतीकरणमार्फत समाज परिर्वतन गर्ने उद्देश्यले एक दशकदेखि रेडियो सिन्धुमा कार्यरत सञ्चारकर्मी तथा पत्रकार अश्मि स्याङतान तामाङ मम्स् इन्टरनेशनल नेपालद्वारा आयोजित १६ औँ संस्करणको मिस तामाङ–२०२४ मा प्रतिस्पर्धी छिन् ।
नविनतम सोँच र विषयवस्तुको खोज, अनुसन्धान तथा अध्ययनमा रूचि राख्दै आएकी उनी मिस तामाङलाई संस्थागत रूपमा अगाडी बढाउन यस पटक प्रतियोगीतामा आफ्नो सहभागीता रहेको प्रारम्भ खबरको कुराकानीमा बताईन् । सञ्चारकर्म गर्दै आएकी उनले शिक्षा र सामाजिक चेतनाको अभावमा तामाङ समुदाय अझै ओझेलमा परेको बताईन् । तामाङ समुदायको मौलिक कला, भेषभूषा, रितिरीवाज, धर्म संस्कृतिको पहिचानलाई जीवन्त राख्न सञ्चारकर्म क्षेत्रमार्फत कार्य सम्पादन गर्दै आएपनि मिस तामाङको प्लेटफर्ममार्फत थप सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
सिन्धुपाल्चोकमा जन्मिएकी उनी एक असल पत्रकार भएर सामजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाउने उद्देश्यका साथ आफ्नो प्रतिभालाई मन्चन गर्न तथा समुदायको थप कुराहरू बुझ्न मिस तामाङ प्रतियोगीतामा सहभागी भएकी बताइन् । विभिन्न विद्यामा प्रशिक्षणका क्रममा लिएको ज्ञानलाई समुदायमाझ पु¥याउने अठोट बोकेकी स्याङतानले क्षमता र व्यवहारिक गुणलाई प्रस्तुत गर्नुपर्ने बताईन् ।
मानविकी संकायमा स्नातक गरेकी उनले भूकम्प र कोभिड जस्तो जोखिम परिस्थितिमा समेत स्थलगत अनुगमन तथा सूचना संकलनको कार्यमा निरन्तर लागेका थिइन् । सिन्धुपाल्चोकको विभिन्न भेगमा भाषाकै कारण राहत लगायत अन्य सुविधाबाट बञ्चित हुनुपरेका तामाङ समुदायमा पुगेर तामाङ भाषामार्फत समाचार संकलन गरी प्रसारण गरेकी अनुभव समेत उनीसंग छ ।

तामाङ समुदायमा आफ्नो पहिचानलाई जोगाइराख्न चुनौति भएको बताउँदै मिस तामाङमा सहभागी भइरहदाँ समुदायमा सामाजिक तथा शैक्षिक चेतना र आर्थिक वृद्धि दर बढाउने कार्यमा लाग्ने बताईन् । यस अघि विद्युतिय सञ्चार माध्यमको बारेमा थुप्रै तालिम लिइसकेकी उनले नेपाल तथा विदेशमा भएको सेमिनार तथा प्रशिक्षणमा समेत आफ्नो उपस्थिति जनाउँदै आएकी छिन् । अश्मि स्याङतान नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमति प्रदेश कमिटि सदस्य, तामाङ पत्रकार संघ सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष समेत हुन् ।

अहिले उनी मिसि तामाङ–२०२४ को प्रतियोगीतामा प्रतिस्पर्धामा छिन् । आफ्नो सीप, क्षमता र नेतृत्वको भूमिकालाई थप स्थापित गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेकी छिन् । सञ्चारकर्मी तथा पत्रकार अश्मि स्याङतानलाई मिस तामाङ–२०२४ को प्रतियोगीतामा अर्थपूर्ण परिणामका लागि हाम्रो पनि शुभकामना ।
मिस तामाङ –२०२४ को ग्राण्ड फिनाले फागुन १२ गते शनिवार काठमाडौँको राष्ट्रिय सभागृहमा हुँदैछ । ‘मिस तामाङ २०२४’ को विजेतालाई १ लाख नगद, सिल्बर क्राउन र गिफ्ट हेम्पर दिइनेछ। त्यस्तै फास्ट रनर अपलाई ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


