मन्त्रीत्रय ज्वाला, बस्नेत र किरातीको राजीनामा माग

फागुन ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहालवाला तीन जना मन्त्रीको राजीनामा माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन् ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएका छानविन समितिले निष्कर्ष निकालेपछि उनले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

त्यस्तै, स्वास्थ्यमन्त्री बस्नेत पनि केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकाले उनले पनि पदबाट राजीनामा दिनुपर्ने एमालेको माग छ ।

रामग्राम क्षेत्रमा नीजि कम्पनी खडा गरेर ९९ वर्षका लागि लिजमा दिने प्रयत्न भएको भन्दै त्यसको जिम्मेवारी पर्यटनमन्त्री किराँतीले लिनुपर्ने सांसद बर्ताैलाको भनाइ छ । लुम्बिनी क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले यो विषयमा जिम्मेवार हुनुपर्ने उनले बताए ।

‘केही समय अगाडि अन्तर्राष्ट्रिय क्षेत्रमा हामी उदांगो भएका छौँ। रामग्राम क्षेत्रमा घरबेटीका छोरालाई खुसी पार्न निजी कम्पनी खडा गरेर ९९ वर्षका लागि लिजमा लिएर दिने प्रयत्न गरियो। संसद्को लेखा समितितले त्यो प्रक्रिया अघि नबढाउन भन्यो। त्यो कोषका अध्यक्षले यो विषयमा जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?,’ विवादमा तानिएका मन्त्री नै पदमा बहाल हुँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने उनको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.