माघ ५, काठमाडौं । गोकर्णेश्वोर नगरपालिका -१ मा रहेको हाम्रो सुन्दरीमाई कृषि महिला समाजले कृषि विकास एवं आत्मनिर्भरता सम्बन्धि तालिम सम्पन्न गरेको छ।
” कृषि पेशामा कृषकहरुलाई आत्मनिर्भरता आजको आवश्यकता भोलीका लागि कृषी पर्यटन सम्भावना ” भन्ने मुल नारा सहित गोकर्णेश्वोर नगरपालिका-०१, उत्तरी भेगमा पर्ने ओख्रेनीमा धौलागिरी ट्राभल र ट्रेक्स प्रा. लि. को सहयोगमा र हाम्रो सुनौलो सुन्दरीमाई कृषि महिला समाजको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा अस्ट्रेलियाबाट कृषि विशेषज्ञ जिम लिमार्ड तथा हाम्जा वारिएर आएर प्रशिक्षार्थीलाई कृषि उत्पादकत्व वृद्धि , किटनाशक प्रयोग र नियमन, नगदे तथा खाद्य बालीको प्रकार तथा भुमिको वर्गीकरण सम्बन्धी सीपमूलक जानकारी दिए।
सुनौलो सुन्दरीमाई कृषि महिला समाजकी अध्यक्ष अश्मिता खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा विशेष अतिथिको रुपमा सुन्दरीजल शिवपुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायण श्रेष्ठ र धौलागिरी ट्राभल एण्ड प्रा.लि. का अध्यक्ष आङकामी शेर्पा रहेका थिए।
उक्त एक दिवसीय कार्यक्रममा सुन्दरीजल शिवपुरी मध्यवर्ती उपभोक्ता समिति १ नम्बर इलाका सदस्य रिसीराम खत्री, मध्यवर्ती समुहका अध्यक्षहरु , गुठीका अध्यक्षहरु, हाम्रो सुनौलो सुन्दरीमाई कृषि महिला समाजका सचिव, कोषाध्यक्ष, उप समुहका अध्यक्षहरु र संस्थाका सम्पुर्ण सदस्यहरु, पत्रकार तथा अन्य समाजसेवीहरु कृषकहरु गरी ५० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय स्तरबाट भएको उक्त कार्यक्रममा नगरप्रमुख र वडाअध्यक्षलाई निमन्त्रणा गरेपनि उपस्थिति नभएकोमा आयोजकले दु:ख व्यक्त गरेको थियो । स्थानीय कृषि उत्पादनलाई वृद्धि गरि आयस्रोत बढाउने उद्देश्यसहित कृषि पर्यटनलाई प्रोत्साहन दिन आयोजना गरेको कार्यक्रम जनप्रतिनिधिले चासो नदिदा आयोजकले चिन्ता व्यक्त गरेको छ । उनीहरु भन्छन् – “हाम्रो गाउँमा निर्वाचनको बेला भोट माग्न आउछन तर अरु बेला दुर्गम देखेर आउन मान्दैनन् । ”
जनप्रतिनिधिहरु जितेर गएपछि फर्केर नआउने अनि कसरी हाम्रो आवाज सुन्छन ? एक सहभागीले प्रश्न गरे । जनप्रतिनिधिहरु सुगम ठाउमा भएको कार्यक्रममा मात्र जाने बजेट पनि त्यतै दिने परिपाटी भएकोले ओख्रेनी र चिलाउने जस्ता गाउँ जहिल्यै विकासको हिसाबले ओझेलमा परेको स्थानीयहरुको भनाई थियो ।

