माघ २, काठमाडौँ । काठमाडौँको काठ क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिका स्थित वडा नं. ३ तारेभिरमा पर्यटन महोत्सव सम्पन्न भएको छ ।१० औँ संस्करणमा प्रवेश गरेको तारेभिर पर्यटन महोत्सवमा दर्शकको उत्साहजनक सहभागीता रहेको थियो ।
आन्तरिक तथा बाह्या पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा तारेभिर महिला समूहले आयोजना गरेको उक्त महोत्सवलाई लामा गुरूहरूद्वारा अष्टमंगल पाठपूजा गरि औपचारिक रूपमा सञ्चालन गरिएको थियो ।

‘आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन र संस्कृति विविधताले भरिपूर्ण तारेभिरको प्रकृति’ भन्ने नारासहित आयोजित १० औँ तारेभिर पर्यटन महोत्सव काठमाडौँ क्षेत्र नं. ३ का संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । महोत्सवलाई सम्बोधन गर्दै सांसद चालिसेले तारेभिरको मोटरबाटोको समस्या यसै वर्षभित्र समाधान गरिने बताए । संघीय सरकारबाट बजेट छुट्याईसकेको बताउँदै ११ औँ महोत्सवका लागि तारेभिरसम्म आउन पक्की मोटरबाटोको अनुभूति दिलाउने सांसद चालिसेले प्रतिवद्धता गरे । त्यस ठाउँको मोटर बाटो निर्माणका लागि आवश्यक बजेटका लागि तीन तहबाटै समन्वय गरि स्थानीयको माग सम्बोधन गर्ने बताए ।

त्यस्तै प्रदेशसभा सदस्य विमल ठकुरीले पनि निर्वाचनको बेला आफुले वाचा गरेको प्रतिवद्धतालाई चाडै पूरा गरिने बताए । तारेभिरतर्फ लाग्ने २ किलोमिटर मोटर बाटोको लागि बागमति प्रदेशबाट बजेट विनियोजित गरि डिपिआर समेत भइसकेको बताए । सांसद ठकुरीले आफ्नो पहलमा बागमति प्रदेश सरकारको तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल, वडा नं. २ नयाँपाटी र वडा नं. ३ को बालुवामा रहेको खानेपानी समस्यालाई समाधान गर्न १ करोड ५० लाख बजेट छुट्याएको जानकारी गराए । विनियोजित बजेटमा कार्य सम्पन्न गराउन नगरपालिका गएर सम्झौता गर्न समेत सांसद ठकुरीले सुझाव दिए ।

महोत्सवमा शुभकामना व्यक्त गर्दै संविधान सभा सदस्य रामेश्वर फुयाँलले स्वर्ग जस्तो ठाउँ तारेभिरलाई थप चिनाउनका लागि महोत्सवले सहयोग पु¥याएको बताए । २०७१ सालमा संविधानसभा सदस्य फुयाँलको अग्रसरमा स्थानीयहरूको श्रम अभियानसंगै तारेभिरलाई चिनाउन गरिएको परिकल्पना अनुसार महोत्सवको विकास हुँदै गएकोमा खुशी व्यक्त गरे । जहाँ परिकल्पना गरिन्छ त्यहाँ सम्भावना बढ्दै जाने बताउँदै तारेभिरलाई उपत्यका काठ चक्रपथको रूपमा विकास गर्ने बताए । स्थानीय स्रोतसाधनको प्रयोग र प्रर्वद्धन गरी प्राकृतिक एवम् साँस्कृतिक पहिचानलाई विश्वसामू चिनाउन प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । तारेभिरको ओडार, गुफा, रक गार्डेन, गुम्बा र स्थानीय उत्पादनको प्रचारप्रसारबाट आर्थिक विकास हुने बताए । बागमति प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका फुयाँलले तारेभिरको पहिचानका लागि तामाङ संग्रहालय निर्माणको परिकल्पना, मोटरबाटो ढलान कार्य सम्पन्न गराईसकेको र बाँकी बाटो निर्माणका लागि सकारात्मक पहल गरिरहने प्रतिबद्धतता जनाए ।

महोत्सवमा गोकर्णेश्वर नगर प्रमुख दीपक कुमार रिसाल, उपप्रमुख सान्नानी लामा, बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, गोकर्णेश्वर वडा नं. ३ का अध्यक्ष मुरारी प्रसाद कुँइकेलले शुभकामना मन्तव्य राखेका थिए । महोत्सवमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामा, वडा नं. ८ का अध्यक्ष नन्द लाल श्रेष्ठ, महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख राजु पाण्डे लगायत विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

तारेभिर महिला समूहका अध्यक्ष सुनिता राना मगर तामाङको अध्यक्षतामा भएको सो महोत्सवमा गाकेर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, कागेश्वरी नगरपालिका लगायत विभिन्न स्थानबाट दर्शकहरूको उल्लेख्य सहभागीता भएको आयोजकले बताए । महोत्सवमा स्थानीय उत्पादनबाट बनेका रक्सी, छ्याङ, मूलाको अचार, फापरको रोटी, कोदोको ढिँडो, सेल, पिडालु, तरूल, घ्यूचाकु, लोकल कुखुरा, कालिजको मासु लगायत खाने परिकारको प्रर्दशन तथा विक्री रहेको थियो । महोत्सवकै अभियान अन्र्तगत २६ गते सरसफाई र २७ गते साहित्य सम्मेलन समेत गरिएको थियो । महोत्सव विविध साँस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिका साथ साथ धामी, झाँक्रीको प्रर्दशन तथा टुङ्ना र डम्फूको प्रस्तुति रहेको थियो ।

तारेभिर पुग्न गोकर्णको हनुमानस्थानबाट करिव ११ किलोमिटर दूरी रहेको छ । अटो रिक्सा, नीजी सवारी साधनमा जान सकिए पनि केही स्थानमा बाटो निर्माणको खाँचो रहेको देखिन्छ । बढ्दो होमस्टे र पदयात्रीहरूको आगमनसंगै आन्तरिक पर्यटनको हब बन्दै गएको तारेभिरमा चिसो स्वच्छ हावापनीका साथ मनोरम दृश्यअवलोकन गर्न सकिन्छ ।






