पुस २७, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित तारेभिरमा साहित्य सम्मेलन सम्पन्न भएको छ । तारेभिर महिला समूहको आयोजनामा १० औँ तारेभिर महोत्सवको आयोजना गरिदैछ । सो महोत्सवको पूर्वसन्ध्यामा आज (शुक्रवार) कवि तथा साहित्यकारहरूबीच सम्मेलन तथा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
माघ १ गते हुने साँस्कृतिक पर्यटन महोत्सवकै अभियान अन्तर्गत दोस्रो दिन आज तारेभिर साहित्य सम्मेलन भएको हो । ‘आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन र संस्कृति विविधताले भरिपूर्ण तारेभीरको प्रकृति’ नारा सहित यस वर्ष १० औँ तारेभीर पर्यटन महोत्सव आयोजना गर्न लागेको आयोजकले जानकारी दिए । आज भएको कविता प्रतियोगितामा विभिन्न स्थानबाट कवि तथा साहित्यकार सहभागी भएका थिए । सो प्रतियोगितामा शम्भु गजुरेल प्रथम भएका छन् । त्यस्तै माधव विडारी द्धितिय र आलोक चालिसे तृतीय भएका छन् । निर्णयहरूमा कवि तथा साहित्यकार गोविन्द प्रसाद घिमिरे (वेदमणी) र मेनिका पोखरेल रहेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य एवम् बागमति प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर वडा –का अध्यक्ष मुरारी प्रसाद कुइकेल लगायत जनप्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेका थिए । त्यस्तै माघ १ गते स्थानीय कला, भाषा, संस्कृति लगायत उत्पादनलाई विशेष प्रर्दशन तथा विक्रिवितरणको तयारी भइरहेको आयोजकले जनाए । विभिन्न कलाकारहरूको विशेष प्रस्तुती समेत रहेको कार्यक्रमको लागि स्टेज निर्माण अन्तिम चरणमा पुगेको बताएको छ ।

महोत्सव सफल पार्न यसवर्ष तारेभीर महिला समूहले विशेष सक्रियता देखाएको छ । अघिल्लो वर्षभन्दा फरक तरिकाले महोत्सव आयोजना हुने भएको छ । स्थानीय बाजा, नाच, कला संस्कृति, धामी, बोन्बो (झाँक्री)को प्रस्तुति तथा टुङ्ना र डम्फूको विशेष प्रस्तुती समेत रहने जनाइएको छ । त्यस्तै महिला समूहले तयार पारिएको आचार, मकै, कोदो, फापरको पिठोको सेल रोटी, तरूल, घ्युचाकु लगायत खाने परिकारको विशेष प्रर्दशन तथा विक्री वितरण गरिने तारेभीर महिला समूहकी अध्यक्ष सुनिता राना मगर लामाले बताईन् ।



