भदौ २४, काठमाडौं । मोहम्मद सलाहको दुई गोल गर्नुका साथै दुई पेनाल्टी मिस गरेको खेलमा इजिप्टले नाइजरलाई हराएको छ ।
अफ्रिका कप अफ नसेन्सको छनोटमा इजिप्टले नाइजरलाई ६–० गोल अन्तरले हराएको हो । घरेलु मैदान बोर्ग अल अरब स्टेडियममा भएको खेलमा इजिप्टले पहिलो मिनेटमा नै पेनाल्टी पाएको थियो । तर, सलाहको प्रहार नाइजरका गोलरक्षकले रोके ।
खेलको १३ औं मिनेटमा मोरवान मोहसेन र २० औं मिनेटमा महमूद ट्रेजिगुएटले गोल गरे । २८ औं मिनेटमा इजिप्टले फेरि अर्को पेनाल्टी पायो तर, सलाह फेरि चुके । रिबाउन्स बलमा उनले गोल गर्दै इजिप्टलाई ३–० को अग्रता दिलाए ।
दोस्रो हाफको ७३ औं मिनेटमा अल –शेननारीले गोल गरे । खेलको ८५ औं मिनेटमा सलाहले दोस्रो गोल गरे । इन्जुरी टाइममा उनी ह्याट्रिक गर्ने राम्रो मौका गुमाए तर, मोहम्मद एलनेनीले गोल गरेपछि इजिप्ट ६–० ले विजयी भयो । समूह जेमा रहेको इजिप्ट दोस्रो स्थानमा छ ।

