भदौ २४, काठमाडौं । अगस्ट १८ दखि सेप्टेम्बर २ सम्म चलेको एशियाली खेलकुद प्रतियोगिता खेलेर फर्किएका राष्ट्रिय भलिबल टिमका खेलाडी सम्मानित भएका छन् ।
काठमाडौंमा एक कार्यक्रममा राष्ट्रिय भलिबल संघले खेलाडीलाई सम्मान गरेको हो । इन्डोनेसियामा भएको एशियन गेम्समा नेपालले समूह चरणमा चाइनिज ताइपेई र दक्षिण कोरियासँग लगातार पराजय व्यहोरेको थियो । तर, प्ले अफ खेलमा मंगोलीयाविरुद्ध नेपालले जित निकालेको थियो । एशियाडमा उक्त जितसँगै नेपाल १५ औं वरियतामा रहेको छ । १५ औं वरियता पाएको नेपालका लागि नेदरल्यान्ड्स भलिबल संघले केक उपहार दिएको थियो । त्यस्तै, राष्ट्रिय भलिबल संघले प्रत्येक खेलाडीलाई नगद १० हजारसहित प्रमाण पत्र प्रदान गरेको छ ।
खेलाडीको प्रोत्साहनका लागि नगद पुरस्कार प्रदान गरिएको भलिबल संघका महासचिव जितेन्द्र चन्दले बताएका छन् । त्यस्तै, उनले नेपालको टि—सर्ट लगाएर मैदानमा उत्रिन पाएकोमा गर्व गर्नुपर्ने बताएका छन् ।

