एमाले प्रदेश पदाधिकारी भेला हुँदै

पुस १९, काठमाडौं । नेकपा (एमाले) प्रदेश पदाधिकारी भेलाको आयोजना गरिएको छ । उक्त भेला पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार चार महिना पहिले सम्पन्न एमाले प्रदेश अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूको भेला तथा प्रशिक्षणको आयोजना गरिएको हो ।आजको भेलामा देशका ७ भौगोलिक र २ गैरभौगोलिक गरी कूल ९ प्रदेशका पदाधिकारीहरूको भेला तथा प्रशिक्षण हुनेछ । यसका लागि सबै प्रदेशका पदाधिकारी काठमाडौं आइपुगेको सचिव अधिकारीले बताए । भेला तथा प्रशिक्षणमा सहभागी हुन कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशका अध्यक्ष चन्द्रेश्वर मण्डल, गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा, बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाह, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण जैसी काठमाडौं आइपुगेका छन् ।

त्यस्तै गैरभौगोलिकअन्तर्गत उपत्यका विशेषबाट प्रेम पराजुली र सम्पर्क समन्वय कमिटीबाट श्याम बस्नेत प्रशिक्षणमा सहभागी हुनेछन् । प्रदेश पदाधिकारी भेला तथा प्रशिक्षणमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका केन्द्रीय पदाधिकारीले सम्बोधन गर्नेछन् । प्रशिक्षण सकिएलगतै ७ प्रदेशका विभिन्न जिल्लामा सांगठानिक पुनःसंरचना, संगठन निर्माण, जनभेटघाट लगायतका कार्यक्रम हुने सचिव अधिकारीले बताए । एमाले प्रदेश पदाधिकारी भेला बिहान ११ बजेबाट सुरू हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.