राष्ट्रियसभा निर्वाचनः पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना

पुस १३, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागु हुने गरी बिहीबार निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आयोगले कोसी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेशमा धनुषाका नारायणप्रसाद सुवेदी, वाग्मती प्रदेशमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा दाङका कृपासुर कार्की, कर्णाली प्रदेशमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याललाई नियुक्त गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका निम्ति यही पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम छ । राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिँदै छ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.