काठमाडौं महानगर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

मंसिर २९, काठमाडौं । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य भएको महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बताउनुभयो । विभागका प्रमुख कोइराला र विश्वविद्यालयको शिक्षा विभागका डीन प्राडा बालचन्द्र लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताबमोजिम महानगरपालिकाले गत वैशाखदेखि लागु गरेको शिक्षामा सिप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तीकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सीप विकास कार्यक्रम, शिक्षण सुधार, प्रारम्भिक वाल विकास कक्षाको स्तरोन्नतिमा सहकार्य हुने छ ।

हाल महानगरपालिकाका ८९ सामुदायिक विद्यालयमा दुई हजार २०२ जना शिक्षकले अध्यापन गर्छन् । विभागका प्रमुख कोइरालाले सामुदायिक शिक्षाको स्तर उकास्दै संस्थागत विद्यालयमा पनि कार्यक्रम क्रमशः कार्यान्वयन गरिने बताउनुभयो । महानगरपालिकाले ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यान्वयन गर्न रु ५० करोड विनियोजन गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.