भदौ २४, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताउनुभएको छ ।
“अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले पुष्टि गरेको छ’ उहाँले भन्नुभयो,“पुरानै पद्दतिबाटै चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा हारको कारण बन्यो ।”
सहमहामन्त्री डा महतले भन्नुभयो, “आफूले गरेका र गर्न लागेका काम राम्रोसँग जनतालाई बुझाउन सकिएन, त्यहीनिर हामी चुक्यौँ ।” अहिलेको सरकारले लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न नसकेको टिप्पणी गर्दै उहाँले सरकार सञ्चालनकर्तामा दम्भ हाबी हुँदै गएको आरोप लगाउनुभयो । –रासस

