रुघाबाट जोगिने ८ उपाय

रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्।

सामान्य लाग्ने रुघा दुई सयभन्दा बढी प्रकारका जीवाणु (भाइस) हुन्छन्।  संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई कहिल्यै रुघा नलागेको होस्। घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका ससाना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ। त्यसपछि पनि प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने बढी सम्भावना हुन्छ।

रुघा लागेको व्यक्ति भएको कोठाका झ्यालढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ। कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकोले यसको विरुद्ध खोप तयार पार्न पनि गाह्रो छ। संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुने गरी कुनै औषधि बनाउन सकिएको छैन। कतिले एन्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन्। तर रुघा निको पार्ने औषधि छैन। यो समस्या नहोस् भन्नका लागि केही रक्षात्मक उपाय अपनाउन सकिन्छ र समस्या भइसकेपछि पनि केही साधारण उपाय अपनाउन सकिन्छ।

रुघा लागेको व्यक्तिको सम्पर्कभन्दा टाढा रहने
रुघा लागेका व्यक्तिसँग नजिक वा मुखामुख हुने गरी बस्नुहुँदैन। यदि बस्नु परेमा मुख र नाक छोप्ने किसिमको मास्क लगाउनु ठिक हुन्छ। यसै गरी रुघा संक्रमित व्यक्तिको सरसामान र लत्ता कपडा प्रयोग गर्नुहुँदैन।

भिटामिन सी भएका खानेकुरा
अमला, कागतीजस्ता भिटामिन ‘सी’ भएका फल र भोजनको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ। भिटामिन सी ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ।

आराम र पानी 
रुघा लाग्नुभन्दा अघि धेरैजना नाक र घाँटीमा के के भएजस्तो, बालुवा रहेको जस्तो, खसखस भएजस्तो हुन्छ भन्ने गर्छन्। यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ। पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिसाबबाट चाँडै बाहिर निस्कन्छन्।

पानी मात्र पिउन मन नलागे तरकारीको तातो सुप पर्याप्त मात्रामा पिउनुपर्छ। रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सुपको प्रयोग गर्नाले शरीरलाई चाहिने केही पोषणतत्व पनि प्राप्त गर्नसकिन्छ। यस्तो बेलामा काम छाडेर आराम गर्नु उत्तम हुन्छ। सम्भव भएन भने कमसेकम शारीरिक रुपमा धेरै थाक्ने कामचाहिँ त्याग्नुपर्छ।

नुनपानीले कुल्ला
घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर गारगल (खकाल्ने) गरेमा दुखाई निकै कम हुन्छ। सम्भव भए दिनमा पाँचछचोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेलामा चाहिँ कुल्ला गर्नुपर्छ। यसले घाँटीको दुखाइ र संक्रमण पनि कम गर्छ। घाँटीमा कुल्ला गर्दा अलिकति ज्वानो पानीमा हालेर कुल्ला गर्दा फाइदा गर्छ।

मह र कागती
घाँटी दुखेको बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनवटा फाइदा हुन्छन्। शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ। महले केही मात्रामा क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ। धेरै जसोले यसमा अदुवाको टुक्रा पनि हाल्छन्। अदुवालाई पानीसँग भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ।

तातो पानीको वाफ
सम्भव भएमा त पुरा जिउ नै तातो पानीको बाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सुक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मांसपेशीलाई पनि धेरै फाइदा हुन्छ। तर हामीकहाँ यो सुविधा थोरै व्यक्तिमात्र उपयोग गर्न सक्षम छन्। पानी उमालेर कुनै भाँडोमाथि राखी त्यस भाँडोमाथि टाउको राखेर कुनै बाक्लो कपडाले टाउको छोपेर बाफ लिनचाहिँ सकिन्छ। पानीमा कति जनाले बास्ना आउने सञ्चो या टिन्चर बेन्जिन पनि हाल्छन्। यसरी बाफ लिँदा नाकमा बास्ना आई सुँघ्न आनन्द आउने र बाफले नाक खुलेर सास लिन सजिलो हुन्छ। घाँटी दुखेको  र अलिअलि छाती दुखेको पनि निको हुन्छ।

औषधि 
रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन तर टाउको दुखेको, जिउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोलजस्ता औषधि प्रयोग गर्न सकिन्छ। यसले आराम पुर्‍याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जिउलाई धेरै आराम हुन्छ।

घरेलु ओखती 
तुलसीको पात र दानालाई दुईतिन गिलास पानीमा उमालेर आधा गिलास भएपछि निकाली त्यो पानी पिउनाले धेरै फाइदा गर्छ। तुलसीको पात घरैमा पाइन्छ। आजकल त तुलसीको चिया नै पनि बजारमा आउन थालेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.