काठमाडौं। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पाटनले मंसिर १५ गते धरौटीमा रिहा गर्ने आदेश गरेपनि तोकिएको धरौटी तिर्न नसकेर कारागारमै रहेका छन्।
उनलाई १५ लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलाशले आदेश दिएको थियो। यद्यपि उनीसँगै धरौटीमा रिहा गर्न आदेश दिइएका अन्य पाँच जना बिहीबार रिहा हुँदा पनि रिजाल १५ लाख धरौटी बुझाउन नसक्दा कारागारमै रहेका छन् । उनले आफूसँग त्यत्रो पैसा नभएको बताउँदै कसरी निस्किने भन्दै कारागारभित्र प्रश्न गरेको कारागार स्रोत बताउँछ। जीवन पर्यन्त भुटान र भुटानी शरणार्थीको लागि देश फर्काउने अभियानमा क्रियाशिल रिजाल शरण लिइएको देशमा समेत कारावासको सजाय भोग्नु परेको छ।
भुटानमा रहँदा राजसभा सल्लाहकार भएर राजकीय हैसियत बनाएका रिजाल त्यहाँका वाङ्चुक वंशीय राजाका विश्वासपात्र मानिन्थे। तथापि नेपाली भाषीमाथि लादिएको विभदेको प्रतिवाद गर्दा उनी निर्वासित भएर नेपालमा शरण लिन बाध्य भएका हुन्। तत्कालीन भुटान सरकारको नजरबन्दमा परेका बेला भागेर नेपाल आएका रिजाललाई सन १९८८ मा नेपाल सरकारले भुटानलाई सुपुरदगी गरेको थियो। उनै रिजाल दश वर्ष भुटानको जेलमा कठोर कारावासको सजाय भोगेर सन १९९८ देखि नेपालमा शरणार्थीको रुपमा बसोबास गर्दै आइरहेका थिए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउन उद्दत केही राज्यका माथिल्ला तहका व्यक्तिहरु संलग्न रहेको प्रकरणमा उनी पनि मुछिएर गत असार ४ गते पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत काठमाडौंले पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएपछि असार १ देखि केन्द्रीय कार्यालय सुनधारामा जेल जीवन बिताइरहेका छन्। जिल्ला अदालतको फैसला बमोजिम उनी लगायत अन्य २० जनालाई पुपक्र्षका लागि कारागार चलान गरिएको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन पछि रिजाललगायत अन्य ६ जनालाई धरोटीमा छाड्ने अदालतको आदेश भएपनि अन्य छुटिसक्दा रिजालको अन्योलता कायमै छ।
भुटानमा रहेका नेपाली भाषीमाथि जातीय सफायाको नीति त्यहाँको शाही सरकारले सुरु गरेपछि लाखौं भुटानी नेपालमा शरणार्थीको जीवन बिताउन बाध्य थिए। तिनै नेपालीलाई स्वदेश फर्काउने अभियानमा अनवरत रुपमा लागेका रिजाल स्वयंलाई नै नक्कली भुटानी बनाउने कार्यमा संलग्न रहेको आरोपमा कारावासको सजाय भोग्नु पर्यो।
उनले भुटान सरकार समक्ष नेपालीभाषीमाथिको विभेदको लागि आवाज नउठाएको भए आजीवन भुटानमा राजकीय पदमा बहाल रहने पर्याप्त अवसर रहेको जानकारहरु बताउँछन्। उनले आफ्नो नेपाली समुदायको नागरिक अधिकारको प्राप्तिका लागि संघर्ष गर्दा राजकीय पद गुमाउँदै दश वर्ष कठोर जेल सजाय भोगेर नेपालमा निर्वासित हुुनु परेको थियो। भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुक नभइ स्वदेशमै ससम्मान फर्काउनुपर्ने मागमा अडिग रहेका रिजाल आफ्नो सोही अडानले पारिवारिक समस्या निम्तिएको समेत बताउने गर्दथे।
उनले आफ्ना छोराहरु समेत तेस्रो मुलुक पुनर्वासमा सरिक हुँदा असहमति प्रकट गरेपछि छोराहरुसँग सम्बन्ध बिग्रिएको रिजालले सुनाउँथे।
उनका दुबै छोराहरु तेस्रो मुलुक पुनर्वास अन्तगर्त क्यानडामा रहेका छन्। रिजाल भने श्रीमतीसहित झापाको बिर्तामोडमा बस्दै आएका थिए।
आजीवन भुटानी शरणार्थीको पक्षमा संघर्षरत रिजाल आज शरण लिएको थलोमा समेत आफ्नै समुदायमाथि घात गरेको आरोपमा कारागार बस्न बाध्य छन्। उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपनि रकम बुझाउन नसक्दा शरण लिएको देशमा आफैंले जीवन भर अधिकारका लागि लडेको आफ्नै समुदायको हक विपरित अन्यलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोगमा कारावास सजाय भोग्न बाध्य छन्।

