राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

मंसिर १८, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धमा भने भोलि (मङ्गलवार) बस्ने बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले पार्टी महाधिवेशनका लागि पूर्व निर्धारित मिति (माघ १४–१८) मा गर्नका लागि देशको अवस्था र तयारीको कारण प्रभावित पारेको भन्दै सो सम्बन्धमा आवश्यक निर्णय हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा ९एकीकृत समाजवादी०लाई निर्वाचन आयोगमा दल दर्ता गर्ने भन्ने मात्रै निर्णय गरेका छौँ । भोलि ११ बजे फेरि बैठक बस्ने छ । राष्ट्रिय महाधिवेशन लगायत अन्य यावत सन्दर्भहरूमा हामी भोलि नै निर्णय लिनेछौँ । आजको सारांशमा बैठक यतिमै सकिएको छ । महाधिवेशन माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने पहिल्यै तय गरेका थियौँ । समाजवादी जागरण अभियानमा हामी हिँड्यौँ । आम कार्यकर्ताहरूबाट पार्टी सङ्गठनलाई सुदृढ गर्नका निम्ति पार्टीले अरू थप काम गर्नुपर्ने सुझावहरू पनि प्राप्त भयो ।’’

उहाँले भन्नुभयो, ‘‘जाजरकोट, रुकुम, सल्यानमा गएको भूकम्पका कारणले जनताको धनजनमा ठुलो क्षति भएको अवस्थामा राष्ट्रिय महाधिवेशनको तयारी गर्नका निम्ति कतिपय मानवीय संवेदनशीलताका विषयहरू पनि जोडिएको कारणले त्यसले पनि प्रभावित ग¥यो । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको तयारीको सन्दर्भले पनि हामीलाई अलिकति बाधा पुर्‍याएको छ । यी सबै कुरालाई हेरी, पार्टी सङ्गठन सुदृढीकरणको आम आवश्यकता, आजको परिस्थिति, भूकम्पको स्थिति, राष्ट्रिय सभाको निर्वाचन र समग्र कामको तयारी व्यवस्थापनका विषयहरूलाई हेरेर हामीले निर्णय लिनुपर्ने भएको हुनाले यी निर्णय गर्ने कुरालाई भोलिका लागि सारेका छौँ ।’’

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता खतिवडाले मध्यावधि निर्वाचनको कुनै सम्भावना नभएको बताउनु भयो । उहाँले केही राजनीतिक दलहरूले सरकारलाई अस्थिर बनाउने र कमजोर पारी राजनीतिक रोटी रोक्नका लागि मध्यावधिको हल्ला गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मध्यावधि निर्वाचनलाई पार्टीगत रूपमा छलफलको विषय बनाएका छैनौँ । नेपालको संविधानले अचानक कसैलाई चाहने बित्तिकै श्री केपी ओलीले विगतमा दुई तिहाइ बहुमतको लागि मलाई भोट दिनुहोस् भनेर मध्यावधि घोषणा गरेजस्तो परिस्थिति नेपालको संविधानले उल्लेख गरेको छैन । यसले धारा ७६ (२) बाट ३ हुँदै ५ सम्म नपुगीकन अरू विकल्पहरू खोज्न सकिँदैन ।

यसकारण मध्यावधि चुनावको आज कुनै सम्भावना देखिएको छैन । दोस्रो कुरा मध्यावधि चुनाव केही राजनीतिक दलहरूले सरकारलाई अविश्वसनीय र अस्थिर बनाउने, सरकारलाई कमजोर पार्ने र आफ्नो राजनीतिको रोटी सेक्ने हल्ला मात्रै हो भन्ने मैले बुझेको छु ।’’ एकीकृत समाजवादीको सचिवालय बैठक भोली (मङ्गलबार) बिहान ११ बजे पुनः बस्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.