मंसिर १४, चितवन । चितवन राष्ट्रिय निकुञ्जले दुईवटा गैंडा मारी खाग बिक्री गर्न लागेको आरोप पक्राउ परेका ८ जनालाई खागसहित सार्वजनिक गरेको छ । निकुञ्जले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। सिन्धुप्रसाद ढुङ्गानाको उपस्थितिमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा खाग बिक्री गर्न ग्राहक खोजिरहेको अवस्थामा चितवनको राप्ती नगरपालिकाको वडा नम्बर ५ र ६ को क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको महानिर्देशक ढुंगानाले जानकारी दिए । जानकारी दिइएअनुसार पक्राउ पर्नेमा मुख्य योजनाकार ३३ वर्षका रमेश खाती र थिङ बाजे भन्ने ५६ वर्षका सीताराम थिङ रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका–३ लेबर्टका खातीलाई प्रहरीले मंसिर ९ गते चितवनको राप्ती–६ बाट पक्राउ गरेको थियो । यसअघि पनि खातीलाई गैंडा शिकारकै अभियोगमा सोधपुछको लागि निकुञ्ज लगिएको थियो । तर, अपराधमा संलग्न भएको प्रमाण नभएकाले अभियोजन प्रक्रिया अघि नबढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिए । सोही मितिमा गैंडा शिकार अभियोगमा ४२ वर्षका पासाङ भन्ने आइतसिंह मोक्तान पक्राउ परेका छन् । राप्ती– ११ थाकलटार घर भएका मोक्तान पनि राप्ती– ६ बाटै पक्राउ परेका थिए ।
खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा ४४ वर्षका शमशेर थिङ पक्राउ परेका छन् । मकवानपुर– ९ घर भइ हेटौंडा– ४ बस्दै आएका थिङलाई पनि राप्ती– ६ बाटै पक्राउ गरिएको हो । राप्ती ६ क्षेत्रबाट नै गैंडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार थिङ बाजे पक्राउ परेका छन् । उनी मकवानपुरको मनहरी– ६ नयाँ बस्तीका हुन् । हेटौंडा– ५ का २८ वर्षका अर्जुन रोका राप्ती–६ बाटै पक्राउ परेको प्रमुख संरक्षण अधिकृत पुनले बताए । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का घले भन्ने ७७ वर्षका धनबहादुर गुरुङसमेत रहेका छन् । रोका र गुरुङ दुबै खाग बिक्री वितरण गर्ने अभियोगमा पक्राउ परेका हुन् ।
यस्तै, ४० वर्षीय उनबहादुर स्याङतानलाई राप्ती– ५ बाट पक्राउ गरिएको थियो । उनी गैंडा शिकारी अभियोगमा पक्राउ परेका हुन् । गैंडा शिकारी अभियोगमै मनहरी– ७ ज्यामिरे घर भइ माडी– ९ बाँदरझुला बस्ने ५६ वर्षका इन्द्र भन्ने स्याङ्बो तामाङ छन् । उनलाई राप्ती– ५ बाट मंसिर ११ गते पक्राउ गरिएको निकुञ्जले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालत चितवनबाट म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

