मंसिर १, काठमाडौँ । काठमाडौँमा रहेका नदी तथा पोखरीहरुमा छठपर्वका लागि तयारी सम्पन्न भएको छ ।
छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौँको गौरीघाट, कमल पोखरी, कुपण्डोल, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा तयारीको काम सम्पन्न भएको छ ।

काठमाडौँका विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ। त्यस्तै, गौरीघाट छठ समिति छठको घाट ५०८ देखि ५१० वटा बनाई सकेको बताएको छ ।
तिहार सकिनेबित्तिकै विधिवत् रूपमा आज (शुक्रबार) देखि छठपर्व सुरु भएको छ । व्रतालु महिला एवं पुरुषले बिहानै उठेर हात खुट्टाका नङ काटेर र चोखो पानीले नुहाइधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । यसरी गरिने नित्यकर्मलाई ‘नहाइ–खाइ’ भनिन्छ । स्नान गरी शुद्ध भएका व्रतालुहरूले ‘अब जथाभावी खाँदिनँ र तन मनले प्रभुको शरणमा बस्छु’ भनी प्रणसमेत गर्दछन् । छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । खर्नाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।
यस दिन व्रतालुले एक छाक मात्र भोजन गर्छन् । छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानी समेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यास हो । कार्तिक शुक्ल षष्ठी अर्थात् तेस्रो दिनलाई छठको मुख्य दिन मानिन्छ । छठमा सूर्यको पूजा गर्ने दिन भएकाले व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । त्यस क्रममा सूर्यलाई चढाउन बनाइएका सामग्रीहरू पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाइन्छ ।
कात्तिक शुक्ल सप्तमी अर्थात् छठको चौथो दिन उदाउँदो सूर्यको पूजाआजा गरिन्छ । उदाउँदो सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् । छठमा पवित्रता र चोखोनितोलाई अति महत्त्व दिइन्छ । मंसिर ३ गते आइतबार छठको सार्वजनिक विदा समेत दिएको छ । आज बेलुका पशुपतिको गौरीघाट र गुहेश्वरी क्षेत्रमा छठको लागि बनाएको टेण्ड, स्टेज तथा सजावटका दृश्यहरू कैद गरिएको छ ।






