कार्तिक १५, काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका -१ बासखर्कमा एक वृद्ध पुरुषको शब फेला परेको छ ।
मंगलवार फेला परेको मृतकको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका- ३, भोताङ स्थायी ठेगाना भएका वर्ष ८६ का हिरालाल लामा मृत फेला परेको हो । उनी काठमाडौं महानगरपालिका -६ सरस्वतीनगर बस्दै आएका थिए ।
हिरालाल गत असोज १९ गते सरस्वतीनगरबाट हराएको थियो । उनको परिवार तथा आफन्त र प्रहरीले खोजी कार्य गरे पनि भेटिएको थिएन। हिरालाल २६ दिनपछि मृत अवस्थामा भेटिएको हो । मृत शरीरमा जंगली जनावरले आक्रमण गरे जस्तो देखिएको छ। यद्यपि घटनाको कारण भने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मृतकको शब अहिले चौतारा अस्पतालस्थित शब गृहमा राखिएको छ । प्रहरीका अनुसार घटनाबारे मृतकको परिवारलाई जानकारी गराइसकेको छ । शब बुझ्न बुधबार बिहान परिवार आइपुग्ने प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो ।

