शनिबार टुँडिखेलमा फूलपाती बढाइँ

कार्तिक ३, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुने भएको छ।

बडादशैंको सातौं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ। सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ।

समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभाव सहभागी हुनेछन्। बडादशैंका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।

नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो। गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ। टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दशैं बिदामा जान अनुमति दिने अभ्यास सेनामा छ।

नेपालको स्वन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध नेपाली सेना समावेशी चरित्रको प्रमुख सुरक्षा संगठन हो। संगठनको प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.