असोज ३०, काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. ३ को महासमिति सदस्य मनोनयनको निर्णयलाई लिएर पार्टीभित्र तिब्र असन्तुष्टि देखिएको छ ।
नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं. ३ ले गरेको भेलाबाट सर्वसम्मत महासमिति सदस्य मनोनयन गरेको निर्णय झुटा भएको भन्दै उक्त निर्णयलाई बदरको माग गरेको छ । अन्य प्रयोजनका लागि भेला राखि माइन्युट समावेश गरी गलत निर्णय सार्वजनिक गर्दै आएको आरोप लगाउँदै पार्टी केन्द्रीय सभापतिको सचिवालय, उपसभापति, महामन्त्री, बागमती प्रदेश समिति, निर्वाचन समिति, काठमाडौँ जिल्ला समिति लगायत निकायहरूलाई जानकारी गराउँदै गलत तरिकाबाट महासमिति सदस्य मनोनयन गरेकोले त्यस निर्णयलाई कार्यन्वयन नगराउन संयुक्त रूपमा हस्ताक्षर गरेर निवेदन पेस गरेको छ ।
पार्टीको विधान विपरीत मनोमानी ढंगबाट गरेको गतिविधिलाई रोक्न पार्टी नेतृत्वलाई आग्रह गर्दै त्यस निर्णयलाई बदरको माग गरिएको छ । अन्य प्रयोजनका लागि भेलामा उपस्थित भएको व्यक्तिहरूको हस्ताक्षर सहितको माइन्युट च्यातेर काठमाडौँ क्षेत्र नं. ३ को महासमिति सदस्य मनोनयन गरेको भन्दै पूर्व क्षेत्रीय सभापतिदेखि क्षेत्रीय महाधिवेशन प्रतिनिधिहरूले संयुक्त रूपमा बदरको माग गरेका छन् । सो निर्णय बदर नगरे पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने चेतवानी समेत दिएका छन् ।
पार्टीलाई सुदृढिकरण गर्दै संगठित र लोकतान्त्रिक मूल्यमान्यतालाई बचाउनका लागि आफ्नो माग रहेको भन्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षण गरेको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. ३ मा व्यक्ति हाबी हुँदै गएपछि यस अघि पनि थुप्रै नेताकार्यकर्ताले पार्टी छाडेर अन्य पार्टी प्रवेश गरिसकेका छन् । पार्टीलाई गलत अभ्यासबाट नचलाउन सचेत गराउँदै त्यस भेलाबाट गरेको भनिएको निर्णलाई बदर गरी सही तथ्यमा केन्द्रीत हुन पूर्व क्षेत्रिय सभापति समेत रहेका महाधिवेशन सदस्य परशुराम पोखरेलले आग्रह गरेका छन् । पार्टीको विधि विधान र अनुशासनलाई वेवास्त गरिए ठूलो दूर्घटना हुन सक्ने चेतवानी दिएका छन् ।
सो निवेदनमा महाधिवेशन प्रतिनिधिहरू परशुराम पोखरेल, दर्गा प्रसाद बराल, जयराज भण्डारी र दुजाङ शेर्पाले संयुक्त रूपमा असहमति जनाउँदै काठमाडौँ क्षेत्र नं. ३ ले गरेको निर्णय बदरको माग राख्दै ध्यानाकर्षण गरेका छन् ।



