भदौ २१, काठमाडौं । विहीबार परेको भारी वर्षातका कारण राजधानी लगाएत विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । एक घण्टाभन्दा बढि समय परेको पानीका कारण राजधानी डुवानसंगै विभिन्न सवारी साधनहरु समेत बगाएको छ । त्यस्तै बौद्ध जोरपाटी क्षेत्र पनि डुवानमा परेको छ । त्यहाँको अव्यवस्थित सडक तथा ढल निर्माणका कारण सडक भासिएर थुप्रै सवारी साधनहरु डुवानमा परेको छ ।

हरेक वर्ष आर्थिक वर्ष शुरु हुन्छ, त्यही बखत वर्षे विकासको योजनाहरु जहीतही देखिन्छ र निरन्तर परेको पानीको प्रवाह नगरी धमाधम सडक पिचदेखि ढल निर्माणका कार्यहरु हुने गर्छन् । कहिले त धुलाम्य कहिले हिलाम्य र अव्यवस्थित सडकले चिनिएको बौद्ध जोरपाटी सडक यतिखेर जलमग्न बनेको छ । जनताको आँखामा छारो हालेर सरोकारवालाले अवैज्ञानिक तरिकाले सडक मर्मत तथा ढल व्यवस्थापन गरिएता पनि त्यसले सार्थकता दिन नसक्दा बौद्ध–जोरपाटी सडक खण्ड अझै अनियन्त्रित र ज्यानमारा बन्दै गएको छ ।

गत साउन १२ गते सडकको अवस्था निरिक्षण गर्न आईपुगेका भौतिक पूर्वधार तथा यातायात व्यवस्थापन मन्त्री रघुवीर महासेठले भदौ १३ गतेभित्र त्यस क्षेत्रको सडक पूर्ण रुपमा पिच भइसक्ने बताएका थिए । तर मन्त्रीको बोली कार्यन्वयन हुनुको सट्टा वर्षयामको पानी झै बगेर विलाए भए ।

त्यस्तै फोहोरमैलाको व्यवस्थापनमा कठिनाई भएको गोकर्णेश्वर नगरपालिकालाई वर्षातको पानीले चुनौती सावित गरेको छ । समयमा फोहोरमैला व्यवस्थापन गर्न नसक्दा जथाभावी फोहोरको ढंगुरकै कारण पानी जाम हुने र सडकमा मानव तथा सवारी साधनहरु डुवानको समस्यामा परेकोे छ । त्यस क्षेत्रको फोहोरमैला संगै अवैज्ञानिक र अव्यवस्थित ढल निर्माणले गर्दा झनै समस्या परेको बताउँछन् बसिन्दाहरु ।


