असोज २०, काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपाली संस्कृति पकृतिसँग जोडिएकाले सूर्यको तापसँग सम्बन्धित वास्तुको नियम पालना गरिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको ६ हप्ते वास्तु सम्बन्धी शनिवार आयोजित गोष्ठी समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वास्तुका क्षेत्रमा पूर्वीय र पश्चिमी देशका अनुभवलाई मिलान गर्न विभिन्न १४ देशका वास्तु इञ्जिनीयरलाई बोलाएर कार्यक्रम गरी नेपालकै गौरव वृद्धि गरेको बताए । ठूला भवनलगायत निर्माण गर्दा वास्तुका नियम पालना गरे सफलता पाइने उल्लेख गर्नुहुँदै मन्त्री साउदले जलवायु परिवर्तनबाट आएका समस्या समाधानका लागि पनि वैदिक नियम पालनाले सहयोग गर्ने विचार व्यक्त गरे ।
त्यस्तै सांसद डा स्वर्णिम वाग्लेले स्थापत्य वेदलाई आधार मानेर विकास भएको वास्तु शास्त्रका आधारमा भवन एवं संरचना निर्माण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने गरेको बताए । यस क्षेत्रमा लागेका पूर्व र पश्चिमा देशका विज्ञको छ हप्ते कार्यक्रमले यस क्षेत्रलाई आधुनिक रुपमा अघि बढाउन सहयोग गर्ने उनको विश्वास थियो । आयोजक संस्था फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्य मन्त्री दीपकप्रकाश बास्कोटाले वैदिक ज्ञानका विषयमा विश्वका मुख्य ६०० विश्वविद्यालयमा वैज्ञानिक अनुसन्धान सही सावित गरेकाले नेपाललाई वैदिक बनाउन आफू राजनीति र सहकारी क्षेत्र छोडेर लागेको बताए । वास्तुका विषयमा पनि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएका विषयलाई जनसमक्ष लैजान नेपालमा छ हप्ते तालिम आयोजना गरिएको जानकारी गराए ।
वैदिक कृषि, स्वास्थ्य, शिक्षा, रक्षालगायत क्षेत्रमा पनि फाउन्डेसनले काम गरेको अध्यक्ष बास्कोटाको भनाई थियो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले विश्वविद्यालयले स्थापनाकालदेखि नै प्राचीन विषयका साथै आधुनिक विषयलाई पनि लैजाने उद्देश्य अनुसार नै वास्तु इञ्जिनीयरिङको कक्षा सुरु गरिएको बताए । कार्यक्रममा पूर्व मन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारी, संस्कृतिविद् डा चिन्तामणि योगी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, महर्षि अभियानका दक्षिण एसिया निर्देशक डा किङ्स्ली बु्रक्सलगायतले महर्षि अभियानका १२ क्षेत्रले वैदिक ज्ञानका आधारमा काम गर्ने गरेको बताएका थिए ।

