असोज १३, काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) ले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार बालुवाटार पुगेर नेपालसहित सो पार्टीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किएलगत्तै नेताहरू बालुवाटार पुगेका थिए । उनीहरूले विभिन्न समस्या औँल्याएका छन् । देशमा रोजगारी गुम्दै गएको, महँगी बढेको, श्रमजीवी, मजदुर र गरिबको जीवन झन् कष्टकर बनेको पत्रमा उल्लेख छ । चाडपर्वको मौका पारेर कालाबजारीले मनपरी गर्न थालेका पनि जनाइएको छ ।
कतिपय अवाञ्छित तत्त्व देशमा जातीय, धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाउन लागिपरेका ध्यानाकर्षणपत्रमा उल्लेख छ । देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले गम्भीर कदम नचाले परिस्थिति झन् खराब हुन सक्नेतर्फ सचेत गराइएको छ ।


