असोज १२, काठमाडौँ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले नागरिक संस्थाका माध्यमबाट टोल टोलमा सूचनाको हक लगिनुपर्नेमा जोड दिनुभएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघको प्रथम राष्ट्रिय सम्मेलन एवं तेस्रो साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुदैँ उहाँले नागरिक संस्थामा आबद्ध अभियानकर्मीले अवैतनिक अनुगमनकर्ताका रुपमा टोल टोलमा सूचनाको हक स्थापित गर्न काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रिय सूचना आयोगमा आफ्नो तीन वर्षे कार्यकालका अवधिमा १९ वटा कार्यालयका प्रमुखलाई सूचना नदिएकाले कारबाही गरिएको कार्यक्रममा प्रमुख आयुक्त गुरूङले सुनाउनुभयो । त्यसअघिका दुई कार्यकालमा १८ कार्यालय प्रमुख गरी हालसम्म ३७ जना कार्यालय प्रमुखलाई सूचना नदिएकामा कारबाही गरिएको उहाँले जानकारी गराउनुभयो । महासंघको आज सम्पन्न भएको महाधिवेशन तीन वर्षे कार्यकालका लागि २७ सदस्यीय कार्य समिति निर्वाचित भएका छन् । महासंघका अध्यक्षमा उमीद बागचन्दको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।

