नेपाल तामाङ संघ (समाजवादी) को दोस्रो राष्ट्रिय अधिवेशन सम्पन्न
अध्यक्षमा पुनः लाप्साङ तामाङ
असोज ७, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल तामाङ संघ (समाजवादी) को दोस्रो केन्द्रीय राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।
शनिवार काठमाडौँमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो अधिवेशनबाट तामाङ संघको अध्यक्षमा लाप्साङ तामाङ (पाख्रिन) पुनः दोहोरिएका छन् । पाख्रिनको अध्यक्षतामा ७७ जना सदस्यीय केन्द्रीय कमिटि बनेको छ । त्यस्तै समितिमा ४ उपाध्यक्ष, १ महासचिव १ उपमहासचिव, ५ सचिव र १ कोषाध्यक्ष सहितको १३ जनाको पदाधिकारी चयन भएका छन् ।उपाध्यक्षहरूमा टिकालाला तामाङ, हस्त बहादुर तामाङ, बज्रमणी लामा र सुन्तली वाइवा तामाङ चयन भएका छन् ।

त्यस्तै महासचिवमा पनि किरण मोक्तान नै पुनः दोहोरिएकी हुन् । यस पटक संघमा उपमहासचिव पद थप गरी डेनो थिङलाई चयन गरिएको छ । त्यस्तै सचिवहरूमा धर्म ब्लोन, भीम लामा, तारा तामाङ, दिलकुमार घ्लान र बलराम बल चयन भएका छन् भने सह– कोषाध्यक्षमा निरबहादुर तामाङ चयन भएका छन् । निर्वाचित नयाँ नेतृत्वलाई पार्टी सचिव एवम् पूर्वमन्त्री नागेन्द्र चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

दोस्रो राष्ट्रिय अधिवेशनकै सन्दर्भमा तामाङ समुदायबाट राजनीतिक तथा सामाजिक व्यक्तित्व हासिल गर्न सफल अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामा, पार्टी पोलिट व्यूरो सदस्य एवम् मण्डनदेउपुर नगरपालिका काभ्रेका प्रमुख टोकबहादुर वाइवा, हेटौडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामालाई सम्मान गरेका थिए ।
उक्त अधिवेशनबाट तामाङ समुदायलाई राजनीतिक चेतनासहितको नेतृत्वमा विशेष पहल गर्न पैरवी गर्ने, तामाङ समुदायमाथी हुने विभिन्न खालको दमन, शोषण र विभेदको विरूद्ध प्रतिवाद गर्ने, तामाङ हकहित र भाषा, संस्कृतिसहितको पहिचानलाई प्रर्वद्धन गर्न राज्यका हरेक तहमा समन्वय गर्ने लगायत ८ वुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ ।

तामाङ समुदायको साँस्कृतिक पहिचानसहितको पहिरन र तामाङ जुहारी कलाकार समूहको विशेष प्रस्तुतीका साथ भएको सो अधिवेशनमा देशभरकै प्रतिनिधिहरू सहभागी थिए । उक्त अधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजाराम स्याङतान, केन्द्रीय सदस्य शान्त्ताकुमारी तामाङ, निर्वाचन आयोग समितिका केन्द्रीय सदस्य रामचन्द्र बल, नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का महासचिव एवम् नेपाल तामाङ संघ (समाजवादी) का इन्जार्च चन्द्रबहादुर तामाङ, नेपाल तमू संघ (समाजवादी) का केन्द्रीय अध्यक्ष गंगा गुरूङ, केन्द्रीय परिषद सदस्य रामदेवी तामाङ लगायत अथिथि रहेका थिए ।
तस्बीरः रूपचन्द्र महर्जन

