बाल लेखक कुञ्जलद्वारा लेखित “मैले पढेको किताव” को गृह लोकार्पन

साउन ३१, काठमाडौँ । युनाइटेड स्कुल ललितपुरले त्यसै स्कुलका कक्षा आठमा अध्ययनरत छात्र कुञ्जल शुभेच्छु लुइटेलद्धारा लिखित “मैले पढेका किताब” को गृह लोकार्पण गरेको छ ।

लुइटेलद्वारा लेखित कृति नेपाल बालसाहित्य समाजले लोकार्पण गरिसकेको हुँदा विद्यालयभित्रको लोकार्पणलाई गृह लोकार्पण भनिएको आयोजकको भनाई छ । कृतिमा प्रमोद प्रधान, कविराज वान्तवा, रमेश शुभेच्छु र विनयकुमार नेपालका भूमिका रहेका छन् । कृति साहित्यकार विनयकुमार शर्मा नेपालले सम्पादन गरेका हुन् । कार्यक्रमलाई दीप प्रज्ज्वलन गरी प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराईले मंगलबार उद्घाटन गर्नुभएको हो । सोही स्कूलका संस्थापक निर्देशक डा. कविराज वान्तवा, संस्थापक नरहाङ राई, युनाइटेड स्कुलका एकेडेमिक हेड चिरञ्जिवी निरौला, कुञ्जलका बाबा डा. रमेश शुभेच्छु, आमा गीता सापकोटा लगायत पत्रकारहरूको उपस्थिति थियो । कृति लोकार्पण गर्दै भट्टराईले कुञ्जललाई निरन्तर लेखिरहन शुभकामना दिनुभयो । उहाँले अमेरिकाको रिडिङ कल्चर र रिडिङ प्यानलको सन्दर्भ उजागर गर्दे कुञ्जलले घरभित्रै रिडिङ कल्चर पाएर सानो उमेरमा कृति लेख्न सकेको बताउनुभयो । उहाँले आफ्ना छोरीहरु पनि युनाइटेड स्कुलमै पढेको पनि सम्झना गर्नुभयो ।

कुञ्जल शुभेच्छु लुइटेलले आफ्नो लेखन अनुभव सुनाउँदै भन्नुभयोः
मेरो बाबा मामु दुवै जना लेखक हुनुहुन्छ । उहाँहरु घरबाहिरबाट आउँदा प्रायः किताब लिएर आउनुहुन्छ । जन्म दिन र अरु अकेजनमा पनि पुस्तक किनिदिनुहुन्छ । महिनामा सात दश वटा र कहिले काहीँ त बीस तीस वटा किताब घरमा आउँछन् । म उहाँहरुले ल्याएका किताब मध्येबाट बलसाहित्य, बालकथा, बाल कविता र जीवनकीका किताबहरु छान्दै पढ्छु ।

हाम्रो घरमा ठुलो पुस्तकालय (लाइब्रेरी) पनि छ । पुस्तकालयमा भएका पुस्तकमध्ये धेरै मैले पढेको छु । उनले पुस्तक लेखनको आरम्भ सन्दर्भ उल्लेख गर्दै भने ः लकडाउन भएको बेलामा मैले थुप्रै पुस्तक पढेँ । तिनका बारेमा केही लेखेँ । लेखेको कुरा बाबा मामुलाई देखाएँ । लेख्न नसकेको कुरा सुनाएँ । उहाँहरु खुसी भएर लेखेको कुरा टाइप गरिदिनुभयो । म उत्साही भएँ । मलाई पढ्दा मनपरेका पुस्तकको समीक्षा लेखेँ । तिनलाई पत्रिकाहरुमा पठाएँ । आफ्नो फेसबुक पेजमा पनि पोस्ट गरेँ ।। मेरा विभिन्न ठाउँमा छापिएका समीक्षा भेला पारेँ । तिनलाई आदरणीय साहित्यकार विनयकुमार शर्मा नेपाल सरले सम्पादन गरिदिनुभयो । सम्पादनपछि किताब छापियो ।

आज मेरो पहिलो किताब छापिएको छ । यो समीक्षाको किताब हो । अब छिटै मेरा कविता र कथाका किताब छापिँदैछन् । त्यसका लागि मलाई शुभकामना दिनुहोला । मैले अर्को किताब पुग्ने गरी समीक्षा पनि लेखिसकेको छु । मलाई रामबाबु सुवेदी र शास्वत पराजुलीले आफ्ना सबै किताब उपहार दिनुभएको छ । अरु लेखकले पनि उपहार दिनुभएको छ । मेरो मामु र बाबाबाट नै मैले लेख्ने प्रेरणा पाएको हुँ । मलाई युनाइटेड स्कुलका गुरु गुरुआमाले पनि सहयोग गर्नुभएको छ । मैले यो किताब छापिएपछि पनि अरु दश वटा किताका समीक्षा लेखिसकेको छु । म लेखनलाई सकेसम्म निरन्तरता दिनेछु ।

मेरो किताब छापिदिएकामा युनाइटेल स्कुल ललितपुरलाई धन्यवाद ।
यस स्कुलका निर्देशक डा. कविराज बान्तवा सरलाई धन्यवाद ।
मलाई सिकाउनुहुने सर, मेडमहरुलाई धन्यवाद ।
मेरो किताब सम्पादन गरिदिनुभएकामा साहित्यकार विनयकुमार शर्मा नेपाल सरलाई धन्यवाद ।

शुभेच्छुद्वारा सन्तानका माध्यमबाट चिनिन पाएकामा खुसी व्यक्त
आज मलाई कुञ्जलका विद्यालयमा उनको कृति लोकार्पण भइरहेको समारोहमा उभिएर बोल्न पाउँदा असाध्यै खुसी लागेको छ । त्यो खुसी लाग्नुको कारण के हो भने म आज मेरो सन्तानको कारणले तपाईंहरुसँग चिनिँदैछु । सन्तानका माध्यमबाट तपाईंहरुका अगाडि उभिएको छु । सन्तानका माध्यमबाट परिचित भएको छु । आफ्नो पौरखले चिनिनु एउटा कुरा हुँदो रहेछ । आफ्ना बाआमाका कारण चिनिनु अर्को कुरा हुँदो रहेछ । आफ्ना सन्तानका कारणले चिनिनु सबैभन्दा ठुलो कुरा लाग्दो रहेछ ।

शुभेच्छुले आफ्नो घरायसी वातावरण र अभिप्रेरणाबारे थप्नुभयोः

रिडिङ प्यानलको अन्तर्य हामीले बुभेका छौँ । घरमा ठुलो टेलिभिजन हुनुभन्दा सानो सानो पुस्तकालय हुनु परिवारका लागि फाइदा हुन्छ भन्ने हामीले बुझेका छौँ । घरको करनरमा बार करनर बनाउनु भन्दा पुस्तकालय हुनु परिवारलाई फाइदा हुन्छ भन्ने हामीले बुझेका छौँ । त्यस अनुसार बाबुले केही अभिप्रेरणा लिए होला भन्ने हामी ठान्छौँ ।

अघि सरले हाम्रो लेखपढ गरिरहने सन्दर्भ उठाउनुभयो । एक नम्बर दुई नम्बर भन्दै कुरा गर्नुभयो । दोस्रो पाटो हामी बाबुआमाले मात्र बच्चालाई केही पनि गर्न सक्तैनौँ । हामी घरका अभिभावक मात्र हौँ । एक किसिमका संरक्षक मात्र हौँ । विद्यालयको अभिभावक बालबालिकाका शिक्षक साथीहरु हुनुहुन्छ । जो यहाँ उपस्थित हुनुहुन्छ । यहाँ अधिकांश कुञ्जललाई पढाउने गुरु गुरुआमाहरु हुनुहुन्छ । यहाँहरुमा म र हाम्रो परिवारका तर्फबाट हार्दिक सम्मान छ । हार्दिक आदर छ । हार्दिक अभिवादन छ । कुञ्जल हामीबाट जति अभिप्रेरित बनेका छन् त्यति नै तपाईंहरुबाट अभिप्रेरित बनेका छन् भन्ने हामीलाई लाग्छ । शुभेच्छुले बालबालिकाको निर्मितीमा विद्यालयको हात रहेने बनाउनुभयो ।

उहाँले भन्नुभयो– हामी अभिभावकले मात्र चाहेर केही पनि गर्न सक्तैनौँ । गुरु गुरुआमाले चहानुभयो भने बालबालिकाको विकास छिटो हुन्छ । यहाँ बाबुका गुररू गुररूआमा हुनुहुन्छ । यहाँहरुप्रति पुनः सम्मान छ । हामी बाबुआमा जान्ने भए पनि एउटा विषय मात्र जान्ने हुन्छौँ । यहाँहरुबट बालबालिकाले धेरै विषय सिकेका हुन्छन् । सामाजिक भावना सिकेका हुन्छन् । दिनको अधिकांश समय बालबालिका तपाईंहररूसँगै हुन्छन् । हामीलाई लाग्छ तपाईंहरुका जिम्मामा हाम्रो सन्तान राम्रो मानिस बनिरहेको छ । यस अर्थमा तपाईं शिक्षक साथीहरु दोस्रो अभिभावक हुनुहुन्छ । आदरणीय पात्र हुनुहुन्छ ।

विद्यालयका संस्थापक निर्देशक डा. कविराज वान्तवाले कुञ्जललाई शुभकामना र बधाई दिँदै अरु विद्यार्थीले पनि कृति लेखेमा प्रकाशन गरिदिने वचन दिनुभयो । उहाँले कुञ्जलको घरायसी बातावरण साहित्यिक रहेको र विद्यालयको पनि वातावरण मिलेकाले कृति प्रकाशन हुन सकेको बताउनुभयो । कार्यक्रममा प्रिन्सिपल निरा प्रधानले सबैलाई स्वागत गर्दै कुञ्जलको प्रतिभाको र पुस्तक प्रकाशन सन्दर्भको जानकारी दिनुभयो । उहाँले विद्यालयले सबै खालका प्रतिभालाई पाठ्यक्रम र पाठ्यक्रमबाहिरबाट पनि उजागर गर्ने विद्यालयको उद्देश्यअनुरुप कुञ्जलको कृति प्रकाशन गरेको जानकारी दिनुभयो । कार्यक्रममा एकेडेमिक हेड चिरञ्जीवी निरौलाले अतिथि र बालप्रतिभा कुञ्जलको परिचय दिनुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.