साउन २१, काठमाडौं । सरकारले विवादास्पद छवि भएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ।
ल्यारक्याल लामाको नियुक्तिलाई लिएर अहिले चौतफी आलोचना छाएको छ । सुशासन कायम गर्ने भनेर भाषण गर्दै हिँड्ने प्रचण्डले विवादास्पद व्यक्ति लामालाई कोषको उपाध्यक्ष बनाएपछि वर्तमान सरकार थप विवादित बनेको छ। पर्यटनमन्त्री सुदन किरातीको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले लामालाई कोषको उपाध्यक्ष बनाएको हो। लामाको नियुक्तिपछि सुशासनको कुरा गर्दै हिँड्ने राईको राजनीतिक चरित्र समेत नांगिएको छ।
उनको नियुक्तिको विषयलाई लिएर माओवादी कार्यकर्ताभित्र समेत असन्तुष्टि पैदा भएको छ । पटक–पटकद विवादित बनेका लामालाई आर्थिक चलखेल गरि पुनः माओवादीको तर्फबाटै सिफारिस गरेको आरोप लागेको छ । लामा कांग्रेस र एमालेबाट लाभ लिइसकेपछि उनी तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेका थिए। माओवादीले लामालाई २०७१ सालमा समानुपातिक सभासद बनाएको थियो।
त्यस्तै तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले लामालाई अर्थराज्यमन्त्री बनाएका थिए। सो समयमा चौतर्फी विरोध भएपछि अर्थराज्यमन्त्री भएको केही दिनमै उनले पदबाट राजीनामा दिएका थिए। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका लामा दोहोरो नागरिकता मुद्दामा मुछिएका छन्। केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले उनलाई कोषको उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। उनी एमालेको पालामा समानुपातिक सभासद बनेका थिए भने त्यसअघि नेपाली कांग्रेसले उनलाई गुम्बा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो।
आफ्नो पद र शक्तिका लागि जुनसुकै मूल्य चुकाउन खपिस लामालाई गोली काण्डदेखि दोहोरो नागरिकता काण्ड समेत रहेको छ । उनी अकुत सम्पत्ति आर्जन आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनको बैंक खाता छानविन गर्दा पेस्तोलका गोली समेत बरामद भएको थियो । ३० फागुन २०७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली फेला पर्यो । अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने क्रममा एक अभियुक्तको लकर खोलिएको थियो । लकरमा सुनचाँदीजस्ता बहुमूल्य धातु नभई पेस्तोलका गोली राख्ने व्यक्ति कोही नभएर संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री ल्यारक्याल लामा थिए ।
निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) को कार्यकाल १० साउनमा पूरा भएको थियो। त्यसपछि शान्तिक्षेत्र लुम्बिनी विकास कोषको नेतृत्वका लागि बौद्ध परम्पराका विशिष्ट व्यक्तित्वहरुले रुचि राखेका थिए । कोषको उपाध्यक्षका लागि गायिका आनी छोइङ डोल्मा, कोषकै पूर्वउपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध), सुमार्ग भिक्षु, भिक्षु कुन्डयसहित थिए । तर, सरकारले कोषको नेतृत्वका लागि उनीहरुलाई होइन, आपराधिक पृष्ठभूमिका लामालाई योग्य देखेर नियुक्त गर्यो ।

