असार २६, काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको सर्बोत्कृष्ट विद्यालय श्री सिद्धिगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास रिजाललाई १६ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरूले शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा गागलफेदी बसपार्कबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
नगरपालिकाको वडा नम्बर– १ गागलफेदी रहेको उक्त विद्यालय हालै प्रकाशन भएको एसईईको नतिजामा सामुदायिक विद्यालयतर्फ ३.५२ औसत GPA का साथमा प्रथम भएको थियो ।

