असार २६, काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷ ८० को पहिलो साढे ११ महिनामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका ५२ कर्मचारीले विदेश भ्रमण गरेका छन् ।
उनीहरूले २०७९ साउन १ देखि २०८० असार १५ गतेसम्मको अवधिमा १४ देशको भ्रमण गरेको गरिबी निवारण मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विभिन्न कार्यक्रममा सहभागी हुन उनीहरूले जर्मनी, बेल्जियम, फ्रान्स, बंगलादेश, अमेरिका, थाइल्यान्ड, बेलायत, इजरायल, जापान, दक्षिण कोरिया, लाओस, भारत, चीन र केन्याको भ्रमण गरेका हुन् । मन्त्रालयका ५२ कर्मचारीले विदेश भ्रमणमा बिताएको कुल दिन जोड्दा ४२५ दिन हुन आउँछ ।
एकै समय एउटै कार्यक्रममा मन्त्रालयका १२ जनासम्म कर्मचारी सहभागी भएको पाइएको छ । सन् २०२२ सेप्टेम्बर ७ देखि ९ सम्म बेलायतमा आयोजित ‘द एक्सपोजर एन्ड नलेज सेयरिङ प्रोग्राम’मा सहभागी हुन तत्कालीन सचिव रामप्रसाद थपलियासहित १२ जनाको टोली गएको थियो । उनीहरू सभा, सम्मेलन, वर्कसप र तालिममा सहभागी हुन विदेश भ्रमणमा गएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
विदेश भ्रमणमा गएका कर्मचारीको खर्च सरकार, यूएनडीपी, सहकारी विभागले व्यहोरेका छन् । केही भ्रमणको खर्च भने आयोजक संस्थाले व्यहोरेको जनाइएको छ । विदेश भ्रमणमा गएका कर्मचारीले भ्रमणबाट नेपाल सरकारलाई प्राप्त हुने ‘उपलब्धि’मा उल्लेख गरेका छन्, “सम्बन्धित विषयमा भए गरेका नवीनतम ज्ञान र प्रविधिमा जानकारी हासिल ।”
अवसर नपाएका कर्मचारी, सम्बन्धित विषय क्षेत्रसँग सम्बन्धित व्यक्ति, पद वा श्रेणी मिल्दो र वरिष्ठताका आधारमा विदेश भ्रमणमा पठाउने कर्मचारीको मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

