असार २५, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ मा रहेको क्रिएटिभ सरसफाई प्रा. लि.ले शनिबार माकलबारी क्षेत्रमा वृहत सरसफाई कार्यक्रम आयोजना गरेको छ ।
माकलबारी गेटबाट शुरु भएको सरसफाई कार्यक्रम मुल सडक क्षेत्र हुँदै बाबा गोकर्णेश्वर यातायातको बस पार्कसम्म भएको थियो । क्रिएटिभ सरसफाईले प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको छ ।

सरसफाई कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, क्रिएटिभ सरसफाईका अध्यक्ष बबरमान तामाङ, वागमति युवा समाजका अध्यक्ष विजय राई, समाजका पदाधिकारी, सदस्य लगायत झण्डै ७० जनाको उपस्थिती रहेको थियो । क्रियटिभ सरसफाईको सरसफाई अभियानको प्रशंसा गर्नु हुँदै वडा अध्यक्ष महतले वडामा सरसफाई कार्यक्रममा क्रियटिभ सरसफाईको अभियानलाई सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा वातावरण सरसफाई र स्वास्थ्य सचेतना जगाउन क्रियटिभ सरसफाईले कार्यक्रम गर्दै आएको अध्यक्ष तामाङले बताउनु भयो ।

